तीन वर्षअघि महामारीमा सञ्चालन गरिएको दमक नगरपालिका– २ बेलडाँगीस्थित कोभिड– १९ अस्पताल झन्डै दुई वर्षदेखि प्रयोगविहीन छ । भुटानी शरणार्थी शिविरका दुईवटा भवनलाई मर्मत गरेर ३० बेडको अस्पताल बनाउन नगरपालिकाले ७० लाख खर्च गरेको थियो । ०७८ कात्तिकसम्म अस्पताल सञ्चालनमा रहे पनि त्यसयता बन्द छ । संरक्षण अभावमा अस्पताल परिसर अहिले झारले ढाकिएको छ ।
‘नेतृत्वको अकर्मण्यताले त्यति धेरै रकम खर्च गरेर बनाएको कोभिड अस्पताल झार–जंगलले ढाकिएको छ । कम्तीमा एकजना कर्मचारी राखेर त्यो झार–जंगल फाँड्ने, सरसफाइ गर्ने हो भने अर्को कुनै महामारीलाई यसले थेग्ने थियो,’ दमक अस्पताल व्यवस्थापन समितिका सदस्य प्रकाश बुढाथोकीले भने, ‘दमक अस्पतालको एउटा इकाइ त्यहाँ सार्न सके पनि अस्पतालको भिड केही नियन्त्रण हुने थियो ।’
नगरपालिकाका अनुसार त्यतिवेला आइसोलेसन तथा कोभिड अस्पताल भवनको मर्मत, घेराबारा, शौचालय, नर्सिङ स्टेसन, ओपिडी कक्ष र एक्स–रे कक्ष निर्माण गर्न करिब ७० लाख खर्च भएको थियोे । दुईवटा भवनमध्ये एउटामा अस्पताल र अर्काेमा कर्मचारीको आवास बनाइएको थियो ।
लामो समयदेखि बन्द रहेका कारण अस्पताल भवन बिस्तारै काम नलाग्ने गरी जीर्ण बन्दै छ । सहरबाट टाढा रहेकाले आगामी दिनमा हुन सक्ने विभिन्न रोगका महामारीमा पनि यो संरचना प्रयोग गर्न सकिने दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले बताए । ‘कोभिड अस्पताल सहरभन्दा बाहिर छ । त्यहाँ कोभिडजस्ता नयाँ महामारी आयो भने पनि बिरामी राख्न सकिन्छ । उक्त संरचनालाई संरक्षण गर्यो भने प्रत्येक वर्ष आउने डेंगुका बिरामी पनि राख्न सकिन्छ,’ उनले भने, ‘आइसोलेसनमा राख्नुपर्ने सरुवा रोगका बिरामीलाई पनि त्यहाँ राखेर उपचार गर्न सकिन्छ ।’
