
प्रजातन्त्र केवल गरिबीमा मौलाउँछ भन्दै गरिबीकै अवस्थामा प्रजातन्त्रलाई अँगाल्दा विकास जोखिममा पर्छ र गभर्नेन्सका खराब चरित्र र प्रवृत्तिहरू देखापर्न सक्छन् भनेर अभिमत प्रकट गर्ने गरिन्छ । तर अधिनायकवादी नेतृत्वमा गरिएको विकासले सुशासन र समृद्धिका गुणहरूलाई समेटेको हुँदैन ।
विकास, सुशासन र समृद्धि राजनीतिक जिम्मेवारी र उत्तरदायित्वका विषय हुन् । प्रशासन व्यवस्थापनका सन्दर्भ होइनन् । विकासको खोजी, सुशासनको स्थापना र अभ्यास तथा समृद्धि प्राप्ति राजनीतिक दृष्टिकोण र तहबाट नै सम्पादन हुने गर्दछन् ।
राज्यका सबै क्रियाकलापको व्यवस्थापनका लागि राजनीतिक, आर्थिक एवं प्रशासनिक अधिकारको अभ्यास गर्नु गभर्नेन्स हो । अर्थात्, अधिकारसम्पन्न निकायहरूले समष्टिगत तथा व्यक्तिगत रूपमा जनताका सर्वाङ्गीण हितका लागि निर्णय र लागु गर्ने पद्धतिलाई गभर्नेन्स भनिन्छ । गभर्नेन्स निर्णय निर्धारण र कार्यान्वयनको प्रक्रिया हो ।


