
काठमाडौं । तिहारको माहोल झपक्कै सुरु भएको थियो । सँगसँगै निर्वाचनको माहोल झनै तातेको छ । तर मंगलबार निर्वाचन आयोगले जारी गरेको एउटा विज्ञप्तिले भने समाजलाई दुई ध्रुवमा विभाजित गरेको छ ।आयोगको पक्ष र विपक्षमा आवाज उठेका छन् । सामाजिक सञ्जालमा आयोगको विरुद्धमा बढी आक्रामक आवाज उठेको छ भने पक्षमा उठेको आवाजको स्वर सानो छ ।
तिहारको दुई दिनअघि आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संवत् २०७९ साल मंसिर ४ गते आइतबार एकै चरणमा सम्पन्न हुने गरी तोकिएको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दलहरुको उमेदवारी दर्ता भइसकेको सन्दर्भमा ‘NO NOT Again’, NO NOT AGAIN’ र NO Not again’ समेतका फेसबुक पेज/ग्रुपहरुबाट निर्वाचनमा उमेदवार रहेका दलका नेताहरुको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृष्य सामग्री प्रकाशन गरेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । झुठ फेसबुक पेज/ग्रुपहरु सिर्जना गरी दलका नेताहरुविरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट) (ठ) र (ड) को प्रतिकूल रहेको देखिन्छ ।”
यस्तो कसूर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेज/ ग्रुपहरु तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न आयोगले विज्ञप्तिमार्फत चेतावनी दियो ।साथै अहिलेसम्म सामाजिक सञ्जालमा सेयर गरेका त्यस्ता सामग्री तत्काल नहटाइए कानुन बमोजिम कारवाही हुने चेतावनी पनि आयोगले दियो ।


