कपाल काटेरै भरतपुरमा ३ तले घर !

घटना कला ब्लग
फाईल फोटो

चितवन – कुनै काममा निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण चितवनका सुरेश ठाकुरले देखाउनुभएको छ । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाउनुभएको हो । कपाल काटेरै उहाँले भरतपुरमा तीन तलाको घर बनाउनुभएको छ । त्यसो त उहाँका एक छोरा चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन् । यो सबै ठाकुरको मेहनतको कमाइ हो । कलैयाको देउताल गाउँपालिका ४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लाग्नुभएको हो । स्थानीयस्तरमा काम सिकेर ६ महिना उहाँले भारतको दिल्ली पुगेर तालिम लिनुभएको हो । विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको शटरमा उहाँले कपाल काट्न सुरु गर्नुभयो । त्यति बेला उहाँको उमेर १८ वर्षको थियो । उहाँले भन्नुभयो, ‘म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ ।’ २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उहाँ अहिले केही पर सर्नुभएको छ ।यहाँ आएर सुरुमा नै आफैँले व्यापार थालेको उहाँ सम्झनुहुन्छ । त्यति बेला दाह्री र कपाल काटेको १० रुपैयाँ लिने गरिन्थ्यो । अहिले यो मूल्य बढेर एक सय ७० रुपैयाँ पुगेको छ । त्यति बेला दैनिक ५० जनासम्मको दाह्री कपाल काटेको उहाँलाई अनुभव छ ।अहिले यो सङ्ख्या ३०–३५ छ । आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उहाँमा जाग्यो । यहाँ कमाएको पैसाले वीरगञ्जमा जग्गासमेत किनिसक्नुभएको थियो । सन्तान हुर्कँदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा घडेरी किन्नुभयो । त्यही घडेरीमा उहाँको तीन तलाको घर ठडिएको छ । ४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थाल्नुभएको छ । कान्छो छोराले भारतको चण्डीगढबाट सीए उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गर्नुभएको छ । उहाँका छोरी कक्षा १२ पढ्दै हुनुहुन्छ । अहिले पनि निरन्तर कपाल काट्दै आउनुभएका ठाकुर मेहनत गर्‍यो भने यही कमाइ हुने बताउनुहुन्छ ।जीवनको झन्डै तीन दशक यो पेसामा सङ्घर्षरत ठाकुरले भन्नुभयो, ‘मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन ।’ कर्मथलो चितवन बनाउनुभएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोवास भरतपुर बनेको हो । अहिले पनि उहाँको आफ्नै कमाइले परिवार धानेको छ । छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनुनपर्ने उहाँ बताउनुहुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *