
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख ०७८ मा पुनर्निर्माण अधुरै रहँदा उद्घाटन गरेको धरहरा निर्माण अझै सकिएको छैन । पुनर्निर्माण सकिएको भन्दै ओलीले त्यतिवेला उद्घाटन गरे पनि हालसम्मको कार्य प्रगति निकै कम छ ।हालसम्म भौतिकतर्फ ७६ प्रतिशत र बजेटतर्फ ६६ प्रतिशत मात्रै कार्य प्रगति भएको छ । ठेकेदार कम्पनीका अनुसार धरहराको बाँकी काम सकिन अझै एक वर्ष लाग्छ । ‘धरहराको लागत स्टिमेट तीन अर्ब आठ करोड रुपैयाँ हो, हालसम्म दुई अर्ब २५ करोड बजेट सकिएको छ,’ ठेकेदार कम्पनी जिआई इपिसी रमण कन्स्ट्रक्सनका प्रोजेक्टर म्यानेजर सञ्जय नकर्मीले भने, ‘धरहराको भित्री र आसपासको धेरै काम अझै बाँकी छ ।’ उनका अनुसार धरहराको सामुन्ने रहेको आठ मिटरको सडक बनाउने कार्य अघि बढेको छ । त्यसका लागि सम्झौता भइसकेको छ । समयमै काम नसकिनुमा आफ्नो गल्ती नभएको कम्पनीको दाबी छ । सम्झौता भएपछि आसपासका भवन नभत्काउँदा २१ महिना धरहराको ब्युटिफिकेसनको काम गर्न नपाएको प्रोजेक्ट म्यानेजर नकर्मीको भनाइ छ । ‘धरहराको भवन मात्रै उभ्याएर भएन, भित्री संरचना र आसपासको ब्युटिफिकेसनका लागि ठाउँ तयार नभएकाले ढिलाइ भएको हो,’ नकर्मीले भने ।
ओलीकै दबाबमा सिँगारपटार र उद्घाटन
त्यतिवेला धरहरा स्तम्भ ठडिए पनि भित्री संरचना निर्माण र ब्युटिफिकेसनका थुपै्र काम बाँकी थिए । सो काम अझै पनि सकिएको छैन । आफू सत्तामा रहेका वेला उद्घाटन गर्न ओलीले पुनर्निर्माण कार्य नसकिँदै उद्घाटन गर्न हतारो गरेका थिए । ओलीकै दबाबमा पुनर्निर्माण नसकिँदै सिँगारपटार गरी उद्घाटन गर्ने व्यवस्था पनि मिलाइएको थियो । तर, माथिल्लो र बाहिरी भाग मात्रै बनाउँदा भित्री भागको काम गर्न कठिन भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।
के–के काम बाँकी छ ?
धरहराको बाहिरी तथा माथिल्लो भागको काम सकिए पनि त्यसभित्रका भित्री संरचना र वरिपरि ब्युटिफिकेसनको काम बाँकी नै छ । सो कार्य सक्नका लागि अझै एक वर्ष लाग्ने ठेकेदार कम्पनीले जनाएको छ । हाल सेन्ट्रल युटिलिटी (ब्लक राख्ने, जेनेरेटर, टान्सफर्मर, चिर्लर, ए–एचयू युनिट, वाटर ट्यांक)लगायत सामग्री राख्ने ठाउँ निर्माणको काम भइरहेको छ । त्यस्तै, धराहराको अगाडिपट्टिको सडक व्यवस्थित पार्ने र गार्डेन निर्माण गर्ने, बाहिरी स्पेस व्यवस्थित पार्ने, हरियालीलगायत काम बाँकी नै छ । त्यस्तै, भित्री भागमा ग्रेनाइट, टायल, सिलिङ निर्माण र झिँगटी छाप्ने काम पनि भइरहेको छ ।
चारपटक म्याद थप्दासमेत ७६ प्रतिशत मात्रै
कामदुई वर्षमा सक्ने गरी कात्तिक ०७५ मा सुरु भएको धरहरा पुनर्निर्माण आयोजनाको ठेकेदार कम्पनीले चारपटक म्याद थपिसकेको छ । पछिल्लोपटक थपिएको म्याद पनि आगामी पुस मसान्तमा सकिँदै छ । तर, उक्त समयमा पनि काम नसकिने ठेकेदार कम्पनीको भनाइ छ ।


