भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल

अन्तर्राष्ट्रिय खेलकुद

काठमाडौं : आइसिसी टि–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गए राति सम्पन्न खेलमा भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल गरेको छ।

एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बङ्गलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाएभने तान्जिद हसनले २९ तथा ऋषाद होसेनले २४ रन जोडे।

भारतका लागि कुलदीप यादवले तीन तथा अर्शदीप सिंह र जसपृत बुम्राहले समान दुई–दुई विकेट लिए।  हार्दिक पान्ड्यले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९६ रनको योगफल बनाएको थियो। भारतका लागि हार्दिक पान्ड्यले २७ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५० रन बनाए। त्यसैगरी  विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ तथा  कप्तान रोहित शर्माले २३ रन जोडे।

बङ्गलादेशका तान्जिम हसन सकिब र ऋषाद हुसेनले समान दुई–दुई विकेट लिए भने शाकिब अल हसनले एक विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *