पर्सागढीमा बृहत स्वास्थ्य स्क्रिनिङ क्याम्प सम्पन्न, ७५ भन्दा बढी लाभान्वित

घटना

पर्सागढी, बारा |

पर्सागढी नगरपालिका वडा नं. ५ अन्तर्गत हरदिया गाउँमा बृहत स्वास्थ्य स्क्रिनिङ क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। बिहीबार (मिति २०८३/०३/०३) आयोजित उक्त कार्यक्रममा आँखा, दन्त तथा मेडिसिन सम्बन्धी विभिन्न रोगहरूको परीक्षण गरिएको थियो।

क्याम्पमा विशेषगरी मोतियाबिन्दु (आँखा), बालबालिकामा दाँतमा किरा लाग्ने समस्या, उच्च रक्तचाप (ब्लड प्रेसर) तथा मधुमेह (डायबिटिज) जस्ता रोगहरूको स्क्रिनिङ गरिएको थियो। साथै, रोग लाग्नुअघि नै जोखिममा रहेका व्यक्तिहरूको पहिचान गर्ने उद्देश्य पनि राखिएको थियो।

कार्यक्रममा बोल्दै डा. चन्द्र भूषण सिंहले गाउँ समाजमा मोतियाबिन्दु, दन्त समस्या, उच्च रक्तचाप तथा मधुमेहका बिरामीहरू प्रशस्त भए पनि आर्थिक अभावका कारण धेरैले नियमित उपचार तथा औषधि सेवन नगर्ने समस्या अझै व्यापक रहेको जानकारी दिनुभयो।

त्यस्तै, चिकित्सक जीतेन्द्र गिरीले आँखा तथा दाँतसम्बन्धी समस्या गाउँ समाजमा बेवास्ता गरिने प्रमुख स्वास्थ्य चुनौती भएको उल्लेख गर्दै शल्यक्रिया आवश्यक देखिएका बिरामीहरूको उपचार वीरगञ्जस्थित आँखा अस्पतालमा गरिने जानकारी दिनुभयो।

क्याम्पमार्फत आँखा तथा दन्त सेवा अन्तर्गत ३३ जना र मेडिकल सेवा अन्तर्गत करिब ४२ जना सेवाग्राहीले लाभ लिएका थिए। कार्यक्रमको जानकारी “समानता अभियान नेपाल” का अभियन्ता इ. गोलकुमार बस्नेटले दिनुभएको हो।

कार्यक्रममा स्थानीय समाजसेवी, अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

यस स्वास्थ्य शिविरको मुख्य उद्देश्य गाउँ समाजमा देखिएका सामान्य तर गम्भीर बन्न सक्ने रोगहरूको समयमै पहिचान गरी आवश्यक परामर्श तथा उपचारतर्फ अभिमुख गराउनुका साथै जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक, स्वास्थ्यकर्मी, सहयोगी संस्था तथा सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गर्दै शिविरको औपचारिक समापन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *