बेलायतको लण्डनमा ग्लोबल आइएमई बैंकको बृहत् अन्तरक्रिया कार्यक्रम

सबै

काठमाडौँ ।विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आह्वानसमेत गरिएको थियो ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दिगोरुपमा नेपालमै वैदेशिक मुद्राको श्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत आयोजनामा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।वरिष्ठ उपाध्यक्ष ढकालले धेरै मुलुकहरुको दाँजोमा नेपालमा लगानीकोे सम्भावना बढी रहेको र प्रतिफल पनि राम्रो रहेको बताउनुभयो । “हामीले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तब्य विकास गरेका छौं र यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका ७ वटै प्रदेशमा निर्माण गर्न गइरहेका छौँ । गैर आवासीय नेपालीहरुसँगको सहकार्यमा लम्जुङ्ग जिल्लामा निर्माण भएको जलविद्युत आयोजना सम्पन्न हुने क्रममा रहेको छ भने म्याग्दी जिल्लाको कालिगण्डकी नदीमा दुईवटा जलविद्युत आयोजना निर्माण गर्दैछौ,” उहाँले भन्नुभयो, “तपाईहरुले पनि नेपालमा लगानी बढाउनुस् । राज्यलाई पनि सहयोग गर्नुहोस् ।”उहाँले नेपाल सरकार, नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा संचितिमा आएको कमीलाई मध्यनजर गर्दै नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न मिल्ने प्रावधान ल्याएको बताउँदै यसमा सहयोग गर्न गैर आवासीय नेपाली संघ तथा सम्पूर्ण नेपालीहरुलाई आग्रह समेत गर्नुभयो । “यता विदेशमा विना व्याजमा यहाँका बैंकमा राखेको पैसा यदि नेपालमा नेपाली बैंकमा विदेशी मुद्रामा नै राख्ने हो भने त्यसको व्याज समेत पाइन्छ । आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिषा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *