
कास्की – पोखरामा जागिर खोज्ने र जागिर दिनेहरुकाबीचमा भेटघाट गराउने उद्देश्यले वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । साउनको ६ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने मेलाको आयोजना शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले गर्न लागेको हो ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा विद्यार्थीलाई परामर्श, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदार उपलब्ध गर्ने उद्देश्यले मेला गर्न लागेको गण्डकी शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बताउनुभयाे ।
मेलामा उद्योग वाणिज्य संघ गण्डकी, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, होटल व्यवसायी, रेष्टुरेष्ट व्यवसायी लगायतका संस्थाले मेलामा स्टलबाटै रोजगारी दिने छन् । मेलामा करिब १० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ । रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, मेलामा नै रोजगारी प्राप्त गर्न सकिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयाे ।‘समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार’ भन्ने नाराका साथ मेला पोखरा प्रदर्शनी केन्द्रमा हुने छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने सरकारको नीति अन्तर्गत मेलाको आयोजना गरिएको उहाँकाे भनाइ छ ।
मेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरहरुको बारेमा जानकारी र सहजीकरण, तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणालीको प्रयोगबारेमा जानकारी दिइने उहाँले बताउनुभयाे ।


