हात्ती मारेको स्थानमा पुगेर अरु हात्तीले मच्चाए वितण्डा

नेपाल घटना

सोमवार बिहान गोली हानेर हात्ती मारेको क्षेत्रमा अरु हात्ती राति वितण्डा मच्चाएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित पूर्वाञ्चल विश्वविद्यालय र आसपासको क्षेत्रमा वितण्डा मच्चाएको हो।

सोमबार राति जंगलमा रहेका हात्तीहरु पूर्वाञ्चाल विश्वविद्यालय परिसरभित्रै प्रवेश गरेर क्षति पुर्‍याएको छ। हात्तीले कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा क्षति पुर्‍याएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार झ्याल र ढोकाको सिसा फुटाइदिनुका साथै किचनको चुल्हो भत्काइ दिएको छ।

सोही हात्तीको बथानले लेखनाथ प्रसाईंले २ बिघा क्षेत्रफलमा लगाएको केरा खाइ दिनुका साथै केरा खेतीमा क्षति पुर्‍याएको छ।

हात्तीले केरा खेतीमा ५० हजार मूल्य बराबरको क्षति गरेको डिएसपी दाहालले बताए। कृष्णबहादुर तामाङको टिनको छानो र बाँसको टाटीबेरा भएको १ तले घर हात्तीले भत्काइ दिएको र घर भत्काउँदा ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

राति हात्तीले क्षति पुर्‍याएको स्थान र हात्ती मारेको स्थान नजिकै रहेको छ। कुनै पनि समय हात्तीले विध्वांस गर्न सक्ने भएकाले त्यस क्षेत्रका स्थानीयलाई सचेत भएर बस्न प्रहरीले अनुरोध गरेको बताइएको छ।

सोमबार बिहान सुन्दरहरैँचा–१० मा हात्तीलाई गोली हानी हत्या गरिएको थियो। आफ्नो समूहको हात्तीलाई मारेपछि उनीहरु आक्रोशित भए क्षति गर्न थालेको हुनसक्ने डिभिजन वन कार्यालय मोरङले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *