
सिमराः मोरङ भेट्रान क्लबले दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको उपाधी उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको फाईनल खेलमा चितवनलाई २-० ले स्तब्ध पार्दै पार्दै मोरङले उपाधी जितेको हो ।
मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक/एक गोल गरे । निर्धारित ५० मिनेटको खेलमा मोरङले डेनिमको गोलबाट अग्रता लिएको थियो । डेनिमले खेलको १३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यसैगरी उत्कृष्ट मिडफिल्ड चितवनका यमु राना घोषित हुँदा सर्वाधिक गोलकर्ताको उपाधी सिमरा भेट्रानका गोपिप्रसाद भट्टले प्राप्त गरेका छन् । उनले प्रतियोगिता अवधीभर पाँच गोल गरेका थिए ।विजेता, उपविजेता र विधागततर्फका खेलाडीलाई सिमराका युवा समाजसेवी श्यामबाबु गुप्ता, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिना, सिमरा भेट्रान क्लबका राजकपुर राउत, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा एमाले जीतपुरसिमरा २ का वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेललगायतले पुरस्कार वितरण गरेका थिए । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखि प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता रहेको थियो ।


