टेलिकमले आजदेखि निःशुल्क इ–सिम वितरण गर्दै

नेपाल

काठमाडौं- नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो ।इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने छ ।

नयाँ प्रिपेड लिन चाहने ग्राहकलाई तत्काललाई इ–सिम उपलब्ध नभए पनि निकट भविष्यमै उपलब्ध गराइने टेलिकमले जनाएको छ ।इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्नेछ । इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *