
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेंगी नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । काठमाडौं- ४ मा भएको पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै सरकारले डेंगी नियन्त्रणमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेको र जिम्मेवारी पूरा नगरेकोमा असन्तुष्टि जनाएका हुन् ।
‘डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकेन । यसमा मेरो ठूलो असन्तुष्टि छ‚’ उनले भने‚ ‘मैले प्रधानमन्त्रीलाई भेटेर पटक-पटक भनेको छु; योबेलामा सरकारको जिम्मेवारी हो, जनताको जीउधनको रक्षा गर्ने ।’
कोभिड-१९ नियन्त्रण गर्न नसकेको भन्दै ओली नेतृत्वको सरकारलाई दोष लगाएको तर आफ्नै सरकार हुँदा पनि डेंगी नियन्त्रण गर्न नसकेको आरोप लगाएका हुन् ।
‘सरकारले डेंगी नियन्त्रणमा काम गर्न सकेन । हिजो कोभिड-१९ को बेलामा ओली सरकारले काम गरेन भन्यौं । अहिले हाम्रै पार्टीको सरकार छ तर यसले पनि काम गर्न सकेको छैन ।’
सरकारको काम चित्तबुझ्दो नभएको भन्दै उनले आपत्कालीन बैठक बसेर देशभरका सरकार बसेर अस्पताललाई डेंगी कसरी हटाउने भनेर काम गर्नुपर्ने बताए । ‘डेंगी नियन्त्रण यो चाडबाडको बेला बढ्छ । सरकारले काम गर्नुपर्छ‚’ उनले भने ।


