
नारायणगढ । भरतपुर महानगरपालिकाले नारायणगढ बजारका केही पसल बन्द गर्न निर्देशन दिएको छ । शहीदचोकस्थित कमलनगर क्षेत्रमा सञ्चालित बाख्रीको मासु पसलहरुलाई बन्द गर्न निर्देशन दिइएको हो ।
बाख्रीको मासु बिक्री गर्ने प्रायः सबै पसल बिनादर्ता सञ्चालन भएको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको भरतपुर महानगरपालिका वडा नं–३ का अध्यक्ष विकाश थापाले जानकारी दिए ।
‘बिनादर्ता सञ्चालन गरेको भेटिएपछि वडामा दर्ता नगरी सञ्चालन नगर्न निर्देशन गरेका छौँ’, आइतबार बजार अनुगमन गर्ने क्रममा उनले भने, ‘मौखिकरुपमा निर्देशन दिँदा अटेरी गरेमा हामी ताल्चा लगाइदिन्छौँ ।’ वर्षौंदेखि कमलनगरको यो बजारमा बाख्रीको मासु बिक्री गर्दै आइरहेका छन् ।अनुगमनका क्रममा संगमरोडस्थित राज पान पसल र मनोवर मिट सप्लायर्सलाई फोहोर भएको कारण जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ । राज पान पसलबाट कुहिएको सुपारीसमेत बरामद गरेर नष्ट गरिएको भरतपुर महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय शाखा अधिकृत थानेश्वर सापकोटाले जानकारी दिए ।आइतबार बजार अनुगमनका क्रममा लायन्सचोकका मासु पसल, शहीदचोक क्षेत्रका एग्रोभेट, केही किराना पसललगायतमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा नवीकरण नभएकालाई तत्काल नवीकरण गराउन सचेत गराइएको छ ।


