
पर्साको पर्सागढी नगरपालिकाको विभिन्न वडाहरुको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा कार्यरत्त कर्मचारीहरुले आन्दोलनको उदघोष गरेका छन् ।पर्सागढी नगरपालिकाको वडा नं. १, ३, ७ र ९ मा रहेको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरुमा कार्यरत १३ जना करारका कर्मचारीलाई बिना कारण एकाएक हटाईएको विरुद्धमा कर्मचारीहरुले बिहीवार नगरप्रमुख गोकर्ण पाठकलाई ज्ञापनपत्र बुझाएका छन् ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र, मनवाका प्रमुख दीपु चौरसियाको अगुवाइमा कर्मचारीहरूले नगरप्रमुख पाठकलाई १० सूत्रीय माग सहित ज्ञापनपत्र बुझाएका हुन् । नगरपालिका अन्तर्गत रहेका आधारभूत स्वास्थ्य चौकीमा करारमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरूले आफूहरूलाई विनाकारण कामबाट हटाइएको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।
आफुहरुको माग तत्काल सम्बोधन नभए शुक्रवार देखि पत्रकार सम्मेलन, कर्मचारी संघ संगठन भेला, सभा, कार्यालयको प्रवेशद्वारमा धर्ना लगायतको ७ दिने बिरोध प्रदर्शनको कार्यक्रमहरु तय गरिएको चौरसियाले बताए । धर्ना पश्चात पनि आफुहरुको माग सम्बोधन नभए थप सशक्त आन्दोलनको कार्यक्रमहरु गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।
कर्मचारीहरुलाई हटाईएकै कारण वडा नं. ६ बागेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित बर्थिङ्ग सेन्टर बन्द भएकोले सेवाग्रहरीहरु मारमा परेको जनाईएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा करारबाट हटाईएका अनमीहरु रेनु कुमारी, सुगान्धी कुमारी, कयमुल नेसा, सोनम गिरी, सिएमएहरु दिपेन्द्र चौरसिया, विक्रान्त चौधरी, सोनु यादव, कार्यालय सहयोगीहरु मेकन यादव, केदार यादव, विष्णु वाईबा, राजकिशोर यादव, मंजु लामाको समेत उपस्थिति रहेको थियो ।


