
चितवन। बुटवल-नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ ।यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४१ महिना बितिसक्दा १९ प्रतिशत मात्रै काम भएको हो ।
बुटवल–नारायणगढ सडकको लम्बाई ११४ किलोमिटर छ । साढे तीन वर्षमा १९ प्रतिशत काम भएको हुँदा सडक निर्माण सम्पन्न हुन करिव १५ वर्ष लाग्ने देखिएको छ । दैनिक सानाठूला गरी १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा सडक आसपासका बासिन्दा प्रभावित भएका छन् । त्यस्तै यो सडक खण्ड भएर ओहोर दोहोर गर्ने यात्रीहरुले पनि सास्ती भएका छन् ।सामान्य अवस्थामा बुटवल–नारायणगढ यात्रा गर्न साढे दुई घण्टा लाग्ने गरेकोमा अहिले ५–७ घण्टा लाग्ने गरेको एमाले नवलपरासीका सांसद तिलक महतले बताए । आफूले यसबारे बारम्बार संसदमा ध्यानाकर्षण गराएको भएपनि निर्माणको कामले गति लिन नसकेको गुनासो गरे ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले यो सडक बिस्तारको योजना ल्याउँदै बजेट छुट्टयाएका थिए । २०७९ साउन २२ गतेभित्र निर्माण पूरा गर्ने गरी सडक विस्तारको काम थालेको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गरेको छ । सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपियाँमा ठेक्का सम्झौता भएको हो । बुटवल–दाउन्ने र दाउन्ने–गैंडाकोट गरी दुई खण्डमा विभाजन गरेर सडकको काम थालिएको छ ।
बुटवल–दाउन्ने पश्चिम खण्डअन्तर्गत पर्ने ४८ किलोमिटरको २० प्रतिशत काम भएको आयोजनाका परामर्शदाता सुशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दाउन्ने–गैंडाकोट खण्ड ६५ किलोमिटर सडकको १८ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म झण्डै ८५ वटा कल्भर्ट निर्माण भएका छन् भने ५० कल्भर्टका अधिकांश काम सकिएको छ । सडकमा २४० कल्भर्ट निर्माण गर्नुपर्नेछ ।दाउन्ने पश्चिमतर्फ नौ वटा ठूला मोटरेबल पुल बनाउनुपर्नेमा तीन वटा निर्माण पूरा भएका छन् भने तीन वटा पुल सम्पन्न हुने चरणमा पुगेका छन् । सडक खण्डमा ११ हजार मिटर नाली बनेको छ भने माटो भर्ने काम १३ हजार मिटर क्षेत्रमा गरिएको छ ।
सडकको कूल लागतमध्ये एसियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।


