
वीरगंज, २१ भदौ/
जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंजस्थित जि. फर्मा लिंक प्रालि र युपिएस फर्मा प्रालिको गोदाम सिल गरेको छ ।
गोदामबाट ठूलो परिणाममा म्याद नाघेको औषधि फेला परेपछि प्रशासनले सिल गरेको हो ।
जि फर्मा लिंक प्रालिले भारतबाट उत्पादित डाक्टर रेडी फर्मास्युटिकलको औषधि बिक्री वितरण गर्दै आएको छ । डाक्टर रेडी फर्मास्युटिकलको उत्पादित म्याद नाघेको औषधि ठूलो मात्रामा वीरगंज बजार क्षेत्रमा जथाभावी फ्याँकिएको भनेर उपभोक्ता हित संरक्षण मञ्चले जिल्ला प्रशासन कार्यालय, पर्सामा जानकारी गराएपछि आज छापामारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल नेतृत्वमा गएको टोलीले उजूरीको आधारमा अनुगमन गर्दा मिति नाघेको औषधि ठूलो परिणाममा फेला पारेपछि सिल गरेको हो ।
छापामारीमा जिप्रकासहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, औषधि व्यवस्था विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, वडा प्रहरी कार्यालय बिर्तासमेतको सहभागिता थियो ।
प्रतीक दैनिक


