श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबायद्वारा अमेरिकी ‘ग्रीन कार्ड’ का लागि आवदेन

समाचार

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षले अमेरिकी ‘ग्रीन कार्ड’ का लागि आवेदन दिनुभएको छ । देशमा गएकाे जुलाईमा भएको प्रदर्शनका कारण पद र देश छाडेर भाग्नुभएका गोटाबायले अमेरिका बस्ने गरी आवेदन फाराम भर्नुभएको जनाइएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनुभएको समाचारमा उल्लेख गरिएको छ । श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उहाँ अमेरिका जाने तयारीमा रहनुभएको जानकारी दिनुभयो । पूर्वराष्ट्रपति गोटाबायसँग निकट मानिनु हुने विरातुङ्गाले थाइल्यान्ड फर्किने उहाँको योजना रद्ध भइसकेको पनि बताउनुभयो

पहिला उहाँले नोभेम्बरसम्म थाइल्यान्डमै बस्ने योजना बनाउनुभएको थियो  ।तर कानुन व्यवसायीहरूसँगको परामर्शपछि उहाँ यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुग्नुभएको डेलि मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरूलाई उल्लेख गर्दै लेखिएको समाचारमा गएकाे महिनादेखि नै उहाँले अमेरिका जाने प्रक्रिया सुरु गर्नुभएको उल्लेख गरिएको छ । उहाँकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गर्नुभएको छ ।उहाँहरूको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्र प्रयोग गरिएका छन् ।  

देशमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटाबाय नै रहेको भन्दै आम नागरिक प्रदर्शनमा निस्किएर उहाँको निवास घेर्न थालेपछि उहाँले देश छोडेर भाग्नुपरेको हो । उहाँ सुरुमा म्यानमार जानुभयो । त्यसपछि थाइल्यान्ड हुदै सिङ्गापुर पुग्नुभयो । उहाँले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरूले सङ्कट समाधानको प्रयास गरिरहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *