
आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेपछि सम्पर्कविहीन भएका सिराहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो शुक्रबार दिउँसो लहान प्रहरीमा हाजिर भएका छन् । आफ्ना कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित शुक्रबार दिउँसो करिब सवा तीन बजे इलाका प्रहरी कार्यालयमा हाजिर भएका उपमेयर महतोले दिएको निवेदन दर्तालगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ । महतोको स्वास्थ्य परीक्षणपछि शनिबारसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार सिराहा जिल्ला अदालतमा पेश गरिने लहान प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।

प्रहरीमा हाजिर हुनुअघि उपमेयर महतोले सीमित पत्रकारहरुसँगको भेटघाटमा आफू स्वास्थ्य परीक्षण र तीर्थाटनका लागि भारत गएको बताएका छन् । जागिर लगाइदिन्छु भन्दै गत १९ जेठमा आफ्नो कार्यकक्षमा बोलाएर बलात्कार प्रयास गरेको भन्दै लहानकी २१ वर्षीया महिलाले ४ साउनमा किटानी जाहेरी दिएपछि उपमेयर महतो सम्पर्कविहीन भएका थिए । सम्पर्कविहिन भएको ५१औं दिनमा उनी स्वयं प्रहरीमा हाजिर भएका हुन् । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्न अपरेटर पदका लागि छनौट गर्न सघाउँछु भन्दै उपमेयर महतोले कार्यकक्षमा बोलाएपछि आफू गएको पीडित महिलाको जाहेरीमा उल्लेख छ ।
११ जेठको बिहान साढे ९ बजे सचिवालयमा बोलाएर करिब ११ बजेतिर कार्यकक्ष प्रवेश गरेका उपमेयर महतोले कार्यकक्षसँगै टाँसिएको गोप्य कोठामा बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ । उपमेयरले गरेको हर्कतको प्रतिवाद गर्दै कार्यकक्षमा चिच्याउन थालेपछि ‘अब केही गर्दिन, हल्ला गरिस् भने तँसहित पतिलाई पनि सिध्याइदिन्छु’ भन्दै धम्क्याएको जाहेरीमा उल्लेख छ । लहान नगरपालिकाले दर्ता अपरेटर पदका लागि १२ जेठमा सूचना प्रकाशन गर्नु एक दिन अघि कुराकानी गर्न उपमेयरले बोलाएपछि पीडित महिला नगरपालिका गएको बताइएको छ। गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीबाट पाँच दलीय गठबन्धनका उम्मेदवार रहेका महतो उपमेयर पदमा निर्वाचित भएका थिए ।


