नेपालले पाकिस्तानलाई पठायो २२ टनभन्दा बढी सहायता सामग्री

अन्तर्राष्ट्रिय नेपाल

नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ।पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजमार्फत् पाकिस्तानको कराँची सहर पठाइएको हो।

विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोग स्वरूप २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।राहत सामग्री कराँची पठाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अत्यावश्यक औषधि तथा राहत सामग्री पठाइएको बताइन्। यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको प्रवक्ता लम्सालको भनाइ छ।

हाल पाकिस्तानलाई प्रदान गरिएको राहत सामग्री नेपाल सरकारद्वारा एकैपटकमा कुनै मुलुकलाई प्रदान गरिएको हालसम्मकै ठूलो परिमाणको सामग्री हो,’ उनले भनिन्।नेपालबाट प्रदान गरिने राहत सामग्रीको संयोजन तथा समन्वयमा परराष्ट्रमन्त्री डा नारायण खड्काको निरन्तर पहलबाट भएको मन्त्रालयले जनाएको छ। विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काले कराँची जाने टोलीलाई बिदाइ गरेका थिए।

राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कराँची प्रस्थान गरेको हो।टोलीमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्वास्थ्य सेवा विभागका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी छन्।

नेपाल सरकारले यसअघि सन् २०१० मा पाकिस्तानलाई नगद रु एक करोड सहयोग गरेको थियो। पाकिस्तानले पनि विसं २०७२ को विनाशकारी भूकम्पका पीडितलाई राहतस्वस्प नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *