
नेपालगन्ज : बहुदलीय व्यवस्था आउने बेला नेपालगन्ज सडकमा ओहोरदोहोर गर्नेलाई प्रहरी गुल्म अगाडि साइकल बनाउँदै गरेको युवाबारे केही सम्झना छ ? कतिले त साइकल मर्मत पनि गराउनुभयो होला ? एउटा थोत्रो साइकल उल्टो पारेर राखिएको हुन्थ्यो। छेउमा दुइटा डन्डा गाडिएको हुन्थ्यो। डन्डामा डोरी बाँधेर साइकलका टायर र गद्दी टाँगिएका हुन्थे। २० वर्षे लक्का जवान बोरा ओछ्याएर साइकल मर्मत गरिरहेका हुन्थे। त्यस बेला २५ पैसामा साइकलको पन्चर टाल्ने मोहम्मद सरिफ बागवान ३४ वर्ष अवधिमा अर्बपति बनेका छन्।
नेपालगन्ज–१ धम्बोझीका बागवानले २०४५ सालमा ७ हजार रुपैयाँ लगानी गरी साइकलको पन्चर टाल्ने पसल सुरु गरेका थिए। उनी साइकल, मोटरसाइकल र अटोको कारोबार गर्ने पाँच कम्पनीका मालिक बनेका छन्। उनले पहिलेको पसलनजिकै धम्बोझी चोकमा बीबी साइकल सेन्टर नामको ठूलो सोरुम खोलेका छन्।
‘नेपालका विभिन्न स्थानबाट हेर्न आउनेहरू कसैले पनि यति ठूलो साइकल सोरुम देखेको छैन भन्छन्। मैले पनि देखेको छैन’, बागवानले भने। धम्बोझीमै अर्को बागवान साइकल स्टोर छ। गोरखा साइकल सप्लायर्सले होलसेल कारोबार गर्छ। टीभीएस मोटरसाइकल र अटो व्यवसाय गोरखा इन्टरप्राइजेजबाट हुन्छ। बागवान इन्जिनियरिङ पनि उनकै हो।


