
धनगढी।नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य संस्थाले बन्द गर्न थालेका छन् । लामो समयदेखि विमितको पैसा भुक्तानी नभएको र पटक-पटक रकम भुक्तानीका लागि परिपत्र गर्दा समेत बेवास्ता गरेको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेका हुन् ।गोदावरीस्थित गेटा आँखा अस्पतालले लामो समयसम्म बीमाबाट पाउनुपर्ने पैसा नपाएपछि स्वास्थ्य बीमाकार्डबाट सेवा दिन बन्द गरेको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताललगायत स्वास्थ्य संस्थाले पनि बीमाको स्वास्थ्य कार्यक्रम बन्द गर्ने चेतावनी दिएका छन् ।‘लामो समयदेखि बीमाको रकम भुक्तानीका लागि परिपत्र गर्दासमेत बीमा बोर्डले चासो देखाएन,’ गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक डा.रमेशचन्द्र भट्टले भने, ‘अस्पताल स्राेतले थप आर्थिक भार थेग्न नसक्ने भएपछि अहिले सेवा बन्द गरिएको छ ।’ वैशाखमा रकम भुक्तानी नभए सेवा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै बीमा बोर्डलाई पत्राचार गरिए पनि त्यसको प्रतिक्रिया नआएपछि असारदेखि सेवा बन्द गरिएको उनले बताए ।


