
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला समितिले जिल्ला सभापति चन्दन कुमार स्वर्णकारको हस्ताक्षरमा एक औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै, हिजो किशान श्रेष्ठले लगाएका आरोपहरू असत्य, आधारहीन र राजनीतिक उद्देश्यका साथ प्रचारित गरिएको भन्दै ती आरोपहरूको कडा खण्डन गरेको छ।
विज्ञप्तिमा भनिएको छ —
“कुनै पनि नेपाली नागरिकको शान्तिपूर्ण आन्दोलन अधिकार हो, तर संविधान विपरीत हिंसा, तोडफोड र आगजनीजस्ता कार्यहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कहिल्यै समर्थन गर्दैन। रास्वपा शान्तिपूर्ण, लोकतान्त्रिक र विधिसम्मत आन्दोलनको पक्षमा प्रतिबद्ध छ।”
जिल्ला सभापति चन्दन कुमार स्वर्णकारले स्पष्ट पारेका छन् कि हालै भदौ २३ र २४ गतेका घटनासँग रास्वपाको कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छैन।
उनका अनुसार, पार्टीलाई बदनाम गर्न राजनीतिक स्वार्थका लागि गलत व्याख्या र अफवाह फैलाइएको हो।
रास्वपा बाराले सरकारद्वारा गठित तीन सदस्यीय छानबिन समितिको स्वागत गर्दै, सत्य तथ्य सार्वजनिक गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
स्वर्णकारले भने —
“हामी विधिसम्मत प्रक्रियामा पूर्ण विश्वास गर्छौं। आवश्यक परे सबै प्रमाण र जानकारी उपलब्ध गराउनेछौं।”
पार्टीले हिंसा र अराजकताबाट कहिल्यै पनि समाधान नहुने भन्दै, सबैलाई संयमित रहि कानुनी प्रक्रिया र संविधानको मार्गबाट समस्या समाधान गर्न आग्रह गरेको छ।



