
रुपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार बनाएको छ। पार्टीको प्राइमरी निर्वाचनमा सबैभन्दा बढी मत पाएका थापालाई कात्तिक १७ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धी बनाउन निर्णय गरिएको हो।
डा. थापा चिकित्सा क्षेत्रमा स्थापित नाम हुन्। उनी डीएमसी चितवनको न्युरोलोजी विभाग प्रमुख र नेसनल न्युरो सेन्टर, महाराजगञ्ज, काठमाडौंमा कार्यरत छन्। साथै, डेढ दशकदेखि हप्तामा दुई दिन भैरहवामा सेवा दिँदै आएका उनले हजारौं बिरामीलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराएका छन्।
शिक्षा र अनुभवका हिसाबले पनि थापा बलियो पृष्ठभूमि भएका उम्मेदवार मानिन्छन्। उनले मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी, र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजबाट न्युरोलोजीमा डीएम गरेका छन्। साथै, हार्भर्ड विश्वविद्यालयबाट “सेफ्टी क्वालिटी लिडरशिप एण्ड इन्फर्मेटिभ” कार्यक्रममा स्नातक गरेका छन्।
डा. थापा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्। उनका अनुसन्धानपत्रहरू ८० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। उनले नेतृत्व गरेको टोलीले विकास गरेको स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकललाई स्वास्थ्य मन्त्रालयले समेत स्वीकृति दिएको छ।
रुपन्देही–३ मा उपनिर्वाचन हालै निधन भएका राप्रपाका सांसद दीपक बोहराले रिक्त छाडेको पदमा हुन लागेको हो। अब सो क्षेत्रमा डा. थापाले राजनीतिक भूमिकासहित नयाँ यात्रा सुरु गर्ने अवसर पाएका छन्।