
काठमाडौं- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।