भरेको तीन वर्षमा राष्ट्रिय परिचयपत्र हातमा, ३ लाख ६० हजारले भर्दा २१ हजारमात्रै आयो

नेपाल समाचार

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय परिचयपत्र वितरण थालेको छ । नागरिकले अनलाइन फाराम भरेको ४ वर्षपछि बल्ल परिचयपत्र हात परेको छ ।चितवनमा पछिल्लोपटक १७ हजार परिचयपत्र एकसाथ आएको र औपचारिकरुपमा वितरण थालिएको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले क्रमशः सबै नागरिकले परिचयपत्र हात पार्ने बताए । ४ हजार प्रति परिचयपत्र अघिल्लो वर्ष नै आएको थियो । ती परिचयपत्र ९ सय ८६ वटामात्रै वितरण भएको छ । ३ हजारजति अझै वितरण हुन बाँकी रहेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनबाट हालसम्म ७२ हजार नागरिकले परिचयपत्रका लागि फाराम भरेका छन् । जिल्लाका स्थानीय तहमा वडास्तरबाटै थालिएको यस अभियानमा २ लाख ८६ हजारले फाराम भरेका थिए । चितवन प्रशासनमा २०७६ माघबाट परिचयपत्र फाराम भर्न थालिएको हो । चितवनमा जम्माजम्मी ३ लाख ५८ हजारले यो फाराम भरेका छन् । तर, अहिलेसम्म जम्मा २१ हजार प्रतिमात्रै आएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रूद्रप्रसाद पण्डितको उपस्थितिमा भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरका चक्रबहादुर कार्कीलाई परिचयपत्र प्रदान गरी वितरणको औपचारिक सुरूवात गरेकी हुन् ।

आफ्नो परिचयपत्र आए/नआएकोबारे नागरिक बेखबर छन् । परिचयपत्र भर्न नागरिकले सास्ती खेप्न परेपछि भरतपुर महानगरले छुट्टै विवरण संकलन कक्षका लागि अनुरोध गरेको मेयर रेनु दाहालले बताइन् । विद्युतीय राहदानीका लागि परिचयपत्र अनिवार्य भनेपछि जिल्ला प्रशासन कार्यालयमा बिहान ७ बजेदेखि नै नागरिकहरु लाइन बस्न आउने गरेकोमा कोटा प्रणालीमा गएपछि कम भएको छ ।विभागका महानिर्देशक रूद्रप्रसाद पण्डितले अनलाइनमार्फत फाराम भरेकाहरुले क्रमशः परिचयपत्र पाउँदै जाने बताए । व्यक्तिका परिचय प्रमाणीकरणको डिजिटल समाधान रहेको उल्लेख गर्दै उनले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको मह¤व रहेको बताए ।

नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी डिजिटल अर्थात् विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरू गरेको हो ।विभागले जारी गर्ने उक्त परिचयपत्रमा ‘सेक्युरिटी चिप्स’ जडान गरिएको हुन्छ । विभागका अनुसार राष्ट्रिय परिचयपत्रमा नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण हुन्छ । आँखाको पर्दा स्क्यान गरी त्यसको विवरण परिचयपत्रमा राखिनुका साथै हातका सबै औँलाको बायोमेट्रिक नमुना लिइएको हुन्छ । ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *