
रुपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवारको रूपमा चयन गरेको छ। पार्टीले भदौ १२ गते सम्पन्न अनलाइन प्राइमरी निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका थापालाई उम्मेदवार घोषणा गरेको हो।
रुपन्देही–३ बाट उम्मेदवार हुन नौ जनाले आकांक्षा व्यक्त गरेका थिए। तीमध्ये चिकित्सक तथा वरिष्ठ न्युरोलोजिस्ट डा. थापाले अग्रता हासिल गर्दै पार्टीको तर्फबाट उम्मेदवारी पक्का गरेका हुन्।
डा. थापा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्। उनी डीएमसी चितवनमा न्युरोलोजी विभाग प्रमुख र नेसनल न्युरो सेन्टर, महाराजगञ्जमा कार्यरत छन्। चिकित्सा क्षेत्रमा डेढ दशकदेखि सक्रिय थापाले भैरहवामा पनि नियमित सेवा दिँदै आएका छन्। उनका अनुसन्धानपत्रहरू ८० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।
शैक्षिक रूपमा उनले मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजबाट न्युरोलोजीमा डीएम गरेका छन्। साथै, उनले हार्भर्ड विश्वविद्यालयबाट सेफ्टी क्वालिटी लिडरशिप एण्ड इन्फर्मेटिभ कार्यक्रममा स्नातक गरेका छन्।
रुपन्देही–३ मा उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने निर्वाचन आयोगले जनाएको छ। सो निर्वाचन पूर्व प्रतिनिधि सभा सदस्य राप्रपाका दीपक बोहराको निधनका कारण रिक्त भएको हो।