
वीरगञ्ज, पर्सा – असार १६
आदरणीय सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिसोधको कडा विरोध गर्दै पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जको ऐतिहासिक घण्टाघर चोकमा हस्ताक्षर अभियान जारी छ।
हजारौं स्थानीय नागरिक तथा देशका विभिन्न भागबाट आएका समर्थकहरूले उक्त अभियानमा सहभागी हुँदै रवि लामिछानेप्रति ऐक्यबद्धता व्यक्त गरिरहेका छन्। सहभागीहरू “रवि लामिछानेलाई साथ र समर्थन देशभरबाट”, “राजनीतिक षड्यन्त्र बन्द गर” लगायतका नारासहित अभियानमा सक्रिय देखिएका छन्।
हस्ताक्षर संकलन कार्यक्रममा सहभागी एक स्थानीय युवाले भने, “रवि लामिछानेमाथि भएको अन्यायपूर्ण व्यवहार सम्पूर्ण नेपाली जनतामाथि अपमान हो। हामी यसको घोर विरोध गर्छौं।”
यस अभियानले आम जनमानसमा राजनीतिक दलहरूप्रति असन्तोष र गुनासो उजागर गर्दै गएको छ। सहभागीहरूको भनाइ अनुसार, “अरू दलका नेताहरू रविको बढ्दो लोकप्रियता र जनसमर्थनप्रति डराएको देखिन्छ। त्यसैले उहाँमाथि अनाहकमा प्रहार गरिँदैछ।”
सक्रिय रूपमा बढ्दो हस्ताक्षर संकलनलाई देशव्यापी अभियानमा विस्तार गर्ने तयारी पनि भइरहेको छ। अभियानकर्ता अनुसार, यो कुनै पार्टीको समर्थनमा होइन, अन्यायको विरोधमा स्वतःस्फूर्त जनताको आवाज हो।
राष्ट्रिय राजनीति पछिल्लो समय तनावपूर्ण बनेको अवस्थामा वीरगञ्जमा भएको यो पहलले समग्र देशको ध्यान आकर्षित गरिरहेको छ।