
प्याट कमिन्स अस्ट्रेलिया (२०२४)
अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्स आइसिसी टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने सातौँ खेलाडी बनेका छन् । वेस्ट इन्डिज र अमेरिकामा चलिरहेको विश्वकपको आधा खेल सकिएपछि ह्याट्रिक विकेट निस्केको हो । सुरुवाती खेलमा रन बन्न नसके पनि ह्याट्रिक विकेट झरेको थिएन । कमिन्सले विश्वकपको ४४औँ खेलमा बंगलादेशविरुद्ध ह्याट्रिक लिँदै यो उपलब्धि हासिल गरेका हुन् । बंगलादेशविरुद्ध कमिन्सले १७.५ ओभरमा पहिलो विकेटको रूपमा अलराउन्डर महमुदुल्लाहलाई बोल्ड गरे । १७.६ ओभरमा मेहदी हसनलाई एडम जाम्पाबाट क्याच गराएका हुन् । त्यसपछि १९.१ ओभर लिएर आएका कमिन्सले टोहिद हृदोयलाई जोस हेजलउडबाट क्याच गराउँदै विश्वकपको पहिलो ह्याट्रिक लिएका हुन् । सो खेलमा बंगलादेशलाई अस्ट्रेलियाले डिएलएस पद्धतिमा २८ रनले हरायो । हाल सातौँ स्ांस्करणको विश्वकप चल्दा पहिलो ह्याट्रिककर्ता ब्रेट लीले सन्न्यास लिइसकेका छन् । उनले सन् २००७ मा पहिलो ह्याट्रिक लिएपछि दोस्रो ह्याट्रिक सन् २०२१ मा निस्केको थियो । सर्वाधिक दुई ह्याट्रिक लिनेमा अस्ट्रेलिया र आयरल्यान्डका दुई खेलाडी छन् । श्रीलंका, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (युएई)का समान एक खेलाडीले ह्याट्रिक विकेट लिएका छन् ।
ब्रेट ली अस्ट्रेलिया (२००७)
विश्वकपका पहिलो ह्याट्रिक लिने खेलाडी अस्ट्रेलियाका ब्रेट ली हुन् । उनले पहिलो संस्करण २००७ को प्रतियोगितामा बंगलोदशविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । क्याप टावनमा भएको खेलमा तीव्र गतिका बलर ब्रेट लीले बंगलादेशका सकिव अल हसन, मसराफ मोर्तजा र आलोक कपालीको विकेट लिएका हुन् । उनले १६.३ ओभरमा सकिव, १६.४ ओभरमा मोर्तजा र १६.५ ओभरमा कपालीको विकेट लिएका थिए । टी–२० विश्वकपको १४औँ खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ९ विकेटले हराएको थियो । चार ओभरमा ह्याट्रिक लिएर २७ रन खर्चिएका ब्रेट ली प्लेयर अफ दी म्याच घोषित भए ।
कर्टिस काम्फेर आयरल्यान्ड (२०२१)
आयरल्यान्डका कर्टिस काम्फेर विश्वकपमा ह्याट्रिक लिने दोस्रो खेलाडी हुन् । सन् २००७ मा ब्रेट लीले पहिलो ह्याट्रिक लिएपछि दोस्रो ह्याट्रिक सन् २०२१ मा भएको हो । उनले दशौँ ओभरमा नेदरल्यान्ड्सको चार विकेट झारेका थिए । चार बलमा चार विकेट लिएका थिए । कर्टिसले ९.२ ओभरमा एकरम्यानलाई आउट गरेका थिए । ९.३ ओभरमा रायन टेन डोयसचाटलाई एलबिडब्लू धरापमा पारेका हुन् । स्कट एडवार्डलाई पनि एलबिडब्लु धरापमा पार्दै काम्पेरले ह्याट्रिक पूरा गरेका हुन् । उनले पाँचौँ बलमा भान डेर मेर्वीलाई बोल्ड गर्दै चार बलमा चार विकेट लिएका हुन् । खेलमा नेदरल्यान्डले दिएको एक सय सात रनको लक्ष्य आयरल्यान्डले तीन विकेट गुमाउँदै भेट्टाएको थियो ।
वानिन्दु हसरंगा श्रीलंका (२०२१)
श्रीलंकाका वानिन्दु हसरंगा विश्वकपमा ह्याट्रिक विकेट लिने तेस्रा खेलाडी हुन् । उनले युएईको सारजाहामा भएको खेलमा दक्षिण अफ्रिकाविरुद्ध उनले दुई ओभर बलिङ गर्दै ह्याट्रिक पूरा गरे । १४ ओभरको अन्तिम बलमा हसरंगाले ऐडन मारक्रमलाई बोल्ड गरे । त्यसपपछि १७ ओभर लिएर आएका हसरंगाले पहिलो बलमा कप्तान टेम्बा बभुमालाई पाथुम निसंकाबाट क्याच आउट गराएका थिए । १७.२ ओभरमा ड्वाइन प्रेटोरिअसलाई भानुका राजापाक्षलाई क्याच गराएका हुन् । यद्यपि, खेलमा दक्षिण अफ्रिका ४ विकेटले विजयी भयो । पहिलो ब्याटिङ गरेको श्रीलंकाले १४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका एक बलअघि विजयी भयो ।
कागिसो रबडा दक्षिण अफ्रिका (२०२१)
तीव्र गतिका बलर कागिसो रबडा सन् २०२१ को विश्वकपमा सानदार प्रदर्शन गर्न सफल भए । यसक्रममा उनले ह्याट्रिक पनि लिएका थिए । प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकाले १० रनको जित निकाल्यो । हारनजिक रहेको दक्षिण अफ्रिकालाई रबडाले अन्तिम ओभरमा तीन विकेट लिँदै जित दिलाएका हुन् । रबडाले निर्णायक ओभरको पहिलो बलमा क्रिस वोक्सलाई मिलरको हातबाट क्याच गराए । दोस्रो बलमा कप्तान इआन मोर्गनलाई १७ रन बनाउँदा केशव महाराजाबाट क्याच गराउँदै दबाब सिर्जना गरेका हुन् । १९.३ ओभरमा क्रिस जोर्डनलाई मिलरबाट क्याच गराउँदै ह्याट्रिक पूरा गरे । रबडाको ह्याट्रिकले इङ्ल्यान्डमाथि दक्षिण अफ्रिकाले जित निकालेको हो ।
कार्तिक मेइयापन युएई (२०२२)
सन् २०२२ को विश्वकप अस्ट्रेलियामा आयोजना हुँदा श्रीलंकासँग ७९ रनले पराजित भए पनि युएईका बलर कार्तिक मेइयापनले ह्याट्रिक विकेटको उपलब्धि हासिल गरेका थिए । उनले श्रीलंकाका भानुका राजापाक्ष, चारिथ असलंका र दासुन सनकाको विकेट लिएका हुन् । टेस्ट राष्ट्रविरुद्ध कार्थिकले १५औँ ओभरमा तीन विकेट लिए । उनले १४.४ ओभरमा श्रीलंकाका राजापाक्षलाई डिप कभरमा कासिफबाट क्याच गराएका थिए । १४.४ असलंसालाई एज लगाएर विकेट किपर अरविन्दबाट क्याच गराए । १४.६ ओभरमा कप्तान सनकाको विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् ।
जस लिटल आयरल्यान्ड (२०२२)
जस लिटर विश्वकपमा ह्याट्रिक लिने दोस्रो आयरल्यान्डका खेलाडी हुन् । उनले सन् २०२२ को विश्वकपमा आयोजक न्युजिल्यान्डविरुद्ध ह्याट्रिक पूरा गरेका हुन् । उनको विश्वकपको पहिलो ह्याट्रिकसमेत थियो । उनले न्युजिल्यान्डका केन विलियम्सन, जेम्स निसाम र मिचल साट्नरको विकेट हात पारेका थिए । जस लिटलले १८.२ ओभरमा ३५ बलमा ६१ रन बनाएका कप्तान विलियम्सनको विकेट लिएका थिए । उनी छक्का हान्ने चक्करमा डेलानीबाट क्याच आउट भएका हुन् । १८.३ ओभरमा निसामलाई एलबिडब्लु धरापमा पारे । लगत्तै अर्काे बलमा उनले साट्नरलाई पनि एलबिडब्लू धरापमा पारेका हुन् । यद्यपि, खेलमा न्युजिल्यान्ड ३५ रनले जित्यो ।