
किसानहरुको समस्या बुझ्नु पर्ने भन्दै जनता समाजवादी पार्टी पर्साले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव नेतृत्वको टोलीले बिहिवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै किसानका समस्या समाधान गर्न माग गरेका छन् । ७ बुँदे माग सहित बुझाइएको ज्ञापन पत्रमार्फत सर्वप्रथम मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी किसानहरुलाई विशेष राहत प्याकेजको व्यवस्था गर्न माग गरिएको छ । उक्त ज्ञापनपत्रमा रहेका माग हरु जस्ताकोतेस्तै :- १. मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई विशेष राहत प्याकेजको व्यवस्था गरियोस् । २. किसानहरुको लागि प्रयाप्त मलखाद्यको व्यवस्था गरियोस् । ३. किसानहरुले बैंकवाट लिएको ऋणको व्याज मिनाहा गरियोस् । ४. सिचाईको लागि व्यापक डिप बोरींग लयायत अन्य वैकल्पिक व्यवस्था गरियोस् । ५. सिचाईको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गरियोस । ६. किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गरियोस् । ७. कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गरियोस् ।

किसानहरु को हकहितका लागि माग गरिएको ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी ढकालले जसपाले उठाएका किसानका माग जायज भएको बताउँदै आफुले मागको सम्बोधनका लागि पहल गर्ने आश्वासन दिनुभयो। ज्ञापनपत्र बुझाउनका लागि जसपा मधेश प्रदेश समितिका सदस्य गौरीशंकर साह, महाराज यादव, जिल्ला सदस्य प्रदिप जयसवाल, युवा नेताहरु मुकेश द्विवेदी, गोपि यादव, विद्यार्थी नेता शशी पाण्डे लगायतको उपस्थिती रहेको जसपा पर्साका युवा नेता गोपि यादवले जानकारी दिनुभयो ।


