
अछाम जिल्लाका २५,००० घरधुरी अझै पनि विद्युतको पहुँचबाहिर छन् भन्ने खबरले हाम्रो राज्य व्यवस्थाको वास्तविक अनुहार देखाएको छ। प्रविधिको युगमा मोबाइल चलाएर मत माग्न सक्ने नेताहरू, १०० किलोमिटर टाढाबाट पनि फेसबुक लाइभ गर्न सक्ने मन्त्रीहरू — आखिर अछाम पुग्दा किन अन्धो जस्ता हुन्छन्?
विद्युत अभावका कारण स्थानीयहरू दैनिक जीवनका आधारभूत आवश्यकता र विकासका अवसरहरूबाट बञ्चित हुँदै आएका छन्। बालबालिकाहरू मोमबत्ती वा दियोको उज्यालोमा पढ्न बाध्य छन् भने, उद्योग, व्यवसाय र कृषि प्रविधिको प्रयोगसमेत ठप्पप्रायः रहेको छ।
स्थानीय बासिन्दा तारा बुढा भन्छन्, “हामी २१औँ शताब्दीमा पनि बत्तीबिना बस्नुपर्छ भन्ने सुन्दा सायद शहरमा बस्नेहरूलाई पत्यार लाग्दैन होला। तर, यो नै हाम्रो यथार्थ हो।”
जनताको करबाट तलबभत्ता खाने, विदेशमा उपचार गराउने र निजी गाडी चढ्ने सुविधा पाउने मन्त्रीहरू कुन मुख लिएर मन्त्रालय जान्छन् जब देशकै नागरिक अन्धकारमा बसिरहेका छन्?
यिनीहरू चुनावको बेलामा मात्र अछाम सम्झन्छन्। चिट्ठा झैं आउँछ एउटा चिट्ठा “सुदूरपश्चिम विशेष विकास कार्यक्रम” भन्दै, अनि हराउँछ ५ वर्षसम्म। योजना कागजमै सीमित हुन्छ, बजेट फाइलमै सड्छ, र अछामका जनताका आँखा फेरि अन्धकारमै भिज्छन्।
सरकारको मौनता, नेताहरूको बेवास्ता र राज्य संयन्त्रको सुस्त गति — यी सबैले विकास होइन, निराशा पो विस्तार गरिरहेका छन्।
सोध्नैपर्छ:
– कुन अनुहार लिएर मन्त्रीहरू मन्त्रालय जान्छन्?
– कुन मन लिएर नेताहरू अछाम पुग्छन्?
– के भोट मात्रै चाहिएको हो? बत्ती होइन?
यो समय हो — खाली योजनाको घोषणा होइन, जमीनमा काम देखाउने। अब जनताले आँखा खोलेका छन्। आवाज उठाउन थालेका छन्। विकासको नाममा गरिने ‘PowerPoint presentation’ ले होइन, घरमा बल्ने बल्बले सरकारको सफलता मापन गरिन्छ।
अछाम उज्यालोमा आउनुपर्छ। अब होइन भने कहिले?