
विराटनगर : सुविधा ग्यासले उपभोक्तामाथि ठगी गरिरहेको पाइएको छ। भरिएको सिलप्याक शिलिण्डर कम तौलको भेटिएपछि उपभोक्ता ठगिने गरेको खुलेको हो।
सुनसरीको दुहवी नगरपालिका-८ सोनापुरस्थित मारुती ग्यास उद्योग प्रालिले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको शिलिण्डर झण्डै एक किलोग्राम कम तौलको भेटिएको छ। उद्योगले बिक्रीका लागि विराटनगर पठाएको शिलिण्डर चेकजाँच गर्दा तौल नपुगेको हो। खाली शिलिण्डरभित्र पनि लेदो भेटिएको छ।
सिलप्याकमा तौल नपुग्नु र खालीमा लेदो भेटिनुले उपभोक्तामाथि ठगी भइरहेको प्रष्ट हुने गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले जनाएको छ। शिलिण्डरमा तौल कम भएको पाइएपछि कार्यालयले अनुगमनसमेत गरेको छ। विराटनगर महानगरपालिका-६ का यज्ञ पराजुलीले केही दिनअघि खरिद गरेको सिलप्याक शिलिन्डरमा तौल नपुगेको हो।
विराटनगर-५ मा शमशेर श्रेष्ठले सञ्चालन गर्दै आएको सुविधाको डिलरबाट ग्यास खरिद गरेको पराजुलीले बताए। ‘ग्यास अरु बेलाको भन्दा चाँडै सकिन थालेपछि शंका लागेर तौल लिएको थिएँ,’ उनले भने, ‘नापजाँच गर्दा तौल कम रहेको पाइयो।’ शिलिण्डरमा १४ किलो दुई सय ग्राम ग्यास भरिएको हुन्छ। खाली सिलिण्डर १५ किलो छ सय ग्राम तौलको छ। भरिएको शिलिण्डर २९ किलो आठ सय ग्रामाको हुनुपर्ने हो। तर तौल लिँदा पराजुलीले किनेको सिलप्याक शिलिण्डर २८ किलो आठ सय २० ग्रामको मात्रै रहेको गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ।
पराजुलीले सुविधा ग्यासबाट आफूजस्ता धेरै उपभोक्ता ठगिएको हुनसक्ने बताए। ‘एक हजार आठ सय रूपैयाँ तिरेर ग्यास खरिद गरेको हुँ। विश्वासका भरमा खरिद गरेर प्रयोग गर्छौँ,’ उनले भने, ‘तर उद्योगले उपभोक्तामाथि ठगी गर्दो रहेछ। ठगी गर्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’ नियमनकारी निकाय मौन भएका कारणले पनि उपभोक्ता ठगिने क्रम बढेको पराजुली बताउँछन्। डिलर सञ्चालक श्रेष्ठले भने एक साताअघि पराजुलीले ग्यास खरिद गरेर लगेको बताए। ‘उद्योगबाट आएको सिलप्याक ग्यास बिक्री गरेको हुँ। अहिले त्यो लटको ग्यास सकिएको छ,’ उनले भने, ‘तौल कम भएको विषयमा मलाई थाहा भएन। उद्योगबाटै कम तौलको ग्यास आएको हुनसक्छ।’ गुणस्तर तथा नापतौल कार्यालयले अनुगमन गर्दा डिलरमा भरिएको शिलिण्डर भेटेन।
अनुगमनका क्रममा खाली भेटिएका शिलिण्डर पनि चेकजाँच गरिएको थियो। खाली शिलिण्डरमा एक सय ४० ग्रामभन्दा बढी लेदो पाइएको कार्यालय प्रमुख मनोजकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार कम तौलको सिलप्याक शिलिण्डर पनि उद्योगमा लगिएको थियो। तर डिलर र उद्योगमै पुगेको अनुगमन टोलीले कुनै निस्कर्ष भने निकाल्न सकेन। कार्यालय प्रमुख पोखरेलले यस विषयमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। ‘तौल कम भएको सिलप्याक शिलिण्डर फेला परेको छ। खाली शिलिण्डरमा लेदो पनि भेटियो,’ उनले भने, ‘अनुगमनबाट पत्ता लागेको कमजोरीका आधारमा छानबिन अघि बढाइएको छ। बजार अनुगमनलाई तीव्र बनाएर कारबाहीको विषयमा पछि निर्णय लिन्छौँ।’ उद्योगले भने कमजोरी ढाकछोप गर्दै पन्छिन खोजिरहेको छ। मेनेजर राम श्रेष्ठले भरेर एक साताअघि डिलरमा पठाइएको शिलिण्डरका बारेमा उद्योग जिम्मेवार नहुने बताए।
‘उद्योगबाट सही तरिकाले शिलिण्डर पठाइएको छ। डिलरमा गइसकेपछि हामी जिम्मा लिन सक्दैनौँ,’ उनले भने, ‘कम तौल भेटिनुमा डिलरकै कमजोरी हुन सक्छ। उद्योगमा भएका सिलिण्डर सही अवस्थामा रहनु र बाहिर पठाइएकोमा कम तौल भेटिएको कुरा आउनुले हामी पनि अचम्ममा परिरहेका छौँ।’उद्योगको बदनाम गराउन चाहनेले गलत गर्न खोजेको हुनसक्ने श्रेष्ठको दाबी छ। डिलरलाई बोलाएर पनि यसविषयमा कुरा बुझ्ने उनको भनाइ छ।


