
पेट्रोलियम पदार्थको खपत वृद्धि हुँदै जाँदा एक अर्ब ‘क्लब’मा प्रवेश गर्ने पेट्रोल पम्पको संख्या पाँच पुगेको छ । अघिल्ला वर्षसम्म एउटा मात्रै पम्पले एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेकोमा यसपटक पाँचवटा पम्पले अर्बभन्दा बढीको इन्धन खरिद गरेको नेपाल आयल निगम लिमिटेडले जनाएको छ ।देशभर करिब १६ सय पेट्रोल पम्प सञ्चालनमा छन् । आयल निगमका अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा धेरै तेल बिक्री गर्नेमा बाराको पथलैया चोकमा नेपाल प्रहरीले सञ्चालन गरिरहेको ‘प्रहरी कल्याण कोष पेट्रोल पम्प’ रहेको छ ।डिजेल मात्र बिक्री गर्ने सो पम्पले गत आबमा एक अर्ब ६४ करोड ५८ लाखको तेल खरिद गरेको निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज (बारा)ले जनाएको छ । सो पम्पले एक करोड ३३ लाख ९८ हजार लिटर तेल बिक्री गरेको थियो ।त्यस्तै, दोस्रो नम्बरमा काठमाडौंको भद्रकालीमा नेपाल आर्मीले सञ्चालन गर्दै आएको रिपुमर्दिनी पेट्रोल स्टेसन रहेको छ । तेस्रोमा ललितपुरको पुल्चोकमा साझा सेवा सहकारीले सञ्चालन गरेको पम्प छ भने भक्तपुर फ्युल सेन्टर चौथो र चितवनको भरतपुरमा सञ्चालित कैलाश आयल डिस्ट्रिब्युटर्स पाँचौँ स्थानमा छ । गत आवमा कैलाश आयल दोस्रो धेरै तेल बिक्री गर्ने पम्पका रूपमा सूचीकृत भएको थियो । अघिल्लो वर्ष कैलाश आयलले आयल निगमबाट ९७ करोडको पेट्रोल, डिजेल खरिद गरेको थियो, गत आवमा एक अर्ब चार करोड रुपैयाँको तेल खरिद गरेको निगमको अमलेखगन्जस्थित मधेस प्रादेशिक कार्यालयले जनाएको छ ।
आर्मीको रिपुमर्दिनीले एक अर्ब ४१ करोड, साझा सहकारी पम्पले एक अर्ब २९ करोड र भक्तपुर फ्युल सेन्टरले एक अर्ब १९ करोड रुपैयाँको पेट्रोल, डिजेल किनेर लगेको निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटले जनाएको छ । सो कार्यालयका प्रमुख शैलेन्द्र भुसालले मागअनुसार पम्पहरूलाई इन्धन दिने गरेको बताए । ‘पेट्रोल पम्पले जति इन्धन माग गर्छन्, हामीले त्यति नै पठाउने गरेका छौँ’ उनले भने, ‘हाम्रो तथ्यांकले पनि उपत्यकामा गत आवमा इन्धनको खपत तुलनात्मक रूपमा बढी भएको देखिन्छ ।’ निगमका अनुसार तराईका जिल्लामा डिजेलको खपत बढी छ भने उपत्यकामा पेट्रोल खपत उच्च छ ।


