
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच (५) पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनको लागि बुधबार यातायात व्यवस्था विभागमा पठाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुरमा लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।


