
जुनसुकै काम गर्नका लागि समयसीमा तोकिन्छ । तोकिएको समयभित्र न्यूनतम ८० प्रतिशत काम पूरा गर्नुपर्ने हुन्छ । तर, निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्डमा ठिक उल्टो परिणाम देखिएको छ ।निर्माण सम्झौता अवधि सकिने एक महिनाभन्दा कम समय हुँदा उक्त सडकको ८१ प्रतिशत काम बाँकी छ । ०७९ साउन २२ गतेभित्र बनाइसक्नुपर्ने सम्झौता रहेको बुटवल–नारायणगढ सडकको भौतिक प्रगति १९ प्रतिशत मात्र छ । वित्तीय प्रगति १० प्रतिशत मात्र भएको छ ।

०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेको यो सडकको चाइना स्टेट इन्जिनियर कर्पोरेसन कम्पनीले ४२ महिनामा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । उक्त अवधि सकिन २२ दिन मात्र बाँकी छ । रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्ला हुँदै निर्माण हुने यो सडकको लम्बाइ ११४ किलोमिटर छ ।निर्माणमा ढिलासुस्ती हुँदा सडकसँग जोडिएका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, विनयत्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलका दर्जनौँ पालिका, बस्ती र हजारौँ नागरिक प्रभावित भएका छन् । दैनिक हजारौँ यातायातका साधन र यात्री जोखिम व्यहोर्दै घण्टौँसम्म सडकमा बस्न बाध्य छन् ।
यो सडकखण्ड पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्छ । सवारीसाधनको चाप हेर्ने हो भने यो सडक एक मिनेट पनि रोक्न नमिल्ने खालको हो । सडकमा दैनिक साना–ठूला गरी १० हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । तर, वर्षायाममा धेरै ठाउँमा खसेको पहिरो समयमै नहटाइँदा गाडीहरू जाममा पर्ने गरेका छन् ।निर्माण कम्पनीले सडकको सामान्य मर्मतको काम समेत गर्ने गरेको छैन । वर्षायाम लागेसँगै सडक निर्माणको काम ठप्पजस्तै छ । साढे दुई घण्टामा यात्रा गर्न सकिने सडक पार गर्न अहिले ६–७ घण्टा लाग्ने गर्छ ।


