
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डले बाराको सिमरामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले जीतपुरसिमरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उपमहानगरपालिकाले बिशेष योजना लिएको बताउनुभयो । अमलेखगञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उहाले सबैको अग्रसरता आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख पौडेलले नेपाल पर्यटन बोर्डसंग सहकार्य गरेर जीतपुरसिमरामा पर्यटन प्रवद्र्धन गर्न आफुहरु तयार रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उप प्रमुख भोला प्रसाद अधिकारीले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सम्बद्ध सबै पक्ष एक हुनुपर्नेमा जोड दिनुभयो । उहाले पर्सा राष्ट्रिय निकुञ्जलाई ब्राण्डिङ्ग गर्नुपर्नेमा पनि जोड दिनुभयो । अन्तरक्रियामा बारा र पर्साका सरोकारवालाहरूले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा योजनामा नेपाल पर्यटन बोर्डले पर्सा राष्ट्रिय निकुञ्जलाई समेटेर व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन् । जवाफमा नेपाल पर्यटन बोर्डका अध्यक्ष कृष्ण साहले पर्यटकीय क्षेत्र रहेको स्थानीय तह र व्यवसायीको राय सुझावकै आधारमा बोर्डले योजना तर्जुमा गरी बजेटिङ गर्ने बताउनुभयो । कार्यक्रममा नाटा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।


