विकासमा हातेमालो गर्दै साम्पाङ, जनस्तरबाट श्रमदान र आर्थिक सहयोग अभियान

सबै

शुक्रबार साँझ ५ बजे धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर चोकमा दौरासुरुवाल र ढाकाटोपी लगाएर पुगेका मेयर हर्क साम्पाङ राई मानिसहरूबाट घेरिए। उनीसँगै लागुऔषधविरुद्धको प्लेकार्ड बोकेर उभिनेमा विराटनगर–१ मोरङका ८० वर्षीय गोविन्द ढुंगाना पनि थिए। उनी मेयर साम्पाङलाई भेट्न र उनका बारेमा रचिएको कविता सुनाउन धरान आएका थिए। ‘शुभेच्छा’ शीर्षकको कविता ढुंगानाले सुनाउँदा विजयपुर चोक तालीको गडगडाहटले गुन्जियो। उनको कविताको एउटा अंश थियो, ‘बाधा पार्छन् कठिन पथमा व्यर्थ केही पराई, फाँडी झाडी अघि बढ सधैं हर्क साम्पाङ राई।’

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर जितेसँगै सुरु भएको साम्पाङको चर्चा अझै सेलाएको छैन। बरु चर्चा यति चुलिएको छ कि धरानबाहिर विभिन्न ठाउँबाट उनलाई भेट्न युवा, वृद्धवृद्धा आइरहेका छन्। उनले सुरु गरेको विकासको अभियान र सामाजिक जनचेतना जगाउने अभियानमा धरानबाहिरबाट पनि उत्तिकै साथ, समर्थन भइरहेको छ। 

अहिले धरानको चर्चा चल्नु स्वतन्त्र उम्मेदवार साम्पाङको जितले मात्र होइन, उनले अघि सारेको अभियान र विकासको मोडलका कारण पनि हो। सरकारी लगानीबिना जनताको श्रमदानमा सानो आकारको विकासे काम अघि बढाउन उनी आफैं फिल्डमा उत्रिएका छन्। शनिबार र अन्य सार्वजनिक बिदाको दिन साम्पाङ बिहानैदेखि विकासको काममा जनतासँगै हुन्छन्। उनी आफैं ढुंगा बोक्छन्, सिमेन्टको बोरा उचाल्छन्। गैंती र बेल्चाले खन्छन् पनि। यसरी नै उनले पकुवा खोलाको पानी धरान–११ र १७ का बासिन्दालाई खुवाउन थालिसकेका छन्। अहिले निसाने, सर्दु र खर्दु खोलाको पानी संकलन गर्न श्रमदानको अभियान सुरु भइसकेको छ। त्यहाँ पनि उनी बिदाको दिन श्रम गर्न पुग्छन्।

मेयर कुर्सीमा बसेर निर्देशन मात्र दिएको देख्ने धराने जनता साम्पाङको कार्यशैलीबाट प्रसन्न छन्। नीतिनिर्माण गर्नुपर्ने, प्रशासनिक काममा ध्यान दिनुपर्ने र निर्देशन दिएर मातहतको कर्मचारी खटाउनुपर्ने मेयर साम्पाङ आफंै ढुंगा बोक्न कुदिहिँडेको भन्दै राजनीतिक दलका नेता, कार्यकर्ताहरूबाट आलोचना भए पनि उनको गति रोकिएको छैन। धराने जनताको साथ झन् बढ्दै गइरहेको छ। मेयर साम्पाङ भन्छन्, ‘विकासमा जनतालाई सहभागी गराउँदै अघि बढ्छौं। धरानको दिगो विकास यसरी नै सम्भव छ। जनतालाई बाइपास गरेर विकास सम्भव छैन।’मेयर कुर्सीमा बसेर निर्देशन मात्र दिएको देख्ने धराने जनता साम्पाङको कार्यशैलीबाट प्रसन्न छन्। नीतिनिर्माण गर्नुपर्ने, प्रशासनिक काममा ध्यान दिनुपर्ने र निर्देशन दिएर मातहतको कर्मचारी खटाउनुपर्ने मेयर साम्पाङ आफंै ढुंगा बोक्न कुदिहिँडेको भन्दै राजनीतिक दलका नेता, कार्यकर्ताहरूबाट आलोचना भए पनि उनको गति रोकिएको छैन। धराने जनताको साथ झन् बढ्दै गइरहेको छ। मेयर साम्पाङ भन्छन्, ‘विकासमा जनतालाई सहभागी गराउँदै अघि बढ्छौं। धरानको दिगो विकास यसरी नै सम्भव छ। जनतालाई बाइपास गरेर विकास सम्भव छैन।’

शनिबार निसाने खोलामा श्रमदान गर्न र आर्थिक सहायत दिन एक हजारभन्दा बढी धराने जनता उर्लिए। त्यहाँ इन्टेक निर्माण भइरहेको छ। त्यहाँ अढाइ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण गर्ने योजना पनि छ। सोही योजनाका लागि मेयर साम्पाङले धरानका भूपू सैनिकहरूलाई शनिबार निसाने खोलाको बगरमा आउन आह्वान गरेका थिए। शनिबार दिउँसो भूपू सैनिक, भूपू परिवारसँगै हजारभन्दा बढी जनता निसानेमा पुगेका थिए। त्यसअघि बिहानै ७ बजे पकुवा खोलाको मुहान क्षेत्रमा पनि वृक्षरोपणका लागि सयौं मानिस उनीसँगै पुगे। पकुवाको मुहानको पाइप सुधारका काममा पनि उनी जुटेका थिए।

निसाने खोलामा भइरहेको काम हेर्न पुगेका भूपू बेलायती सैनिक ८४ वर्षीय लालबहादुर लुङ्फुङ्वा  

लिम्बूले भने, ‘मेयर हर्क साम्पाङको विकास हेर्न आएको। उहाँले भूपूहरूलाई बोलाउनुभएको थियो। यस्तो काम पहिला नै हुनुपथ्य्रो। अहिले सुरु भएको छ, एकदम राम्रो छ। सबैले सहयोग गर्नुपर्छ।’

धरान–१८ स्थित डिपोट स्कुलका प्रिन्सिपल राजकुमार राईले पनि जनश्रमदानमा धराने जनताको जोस र जाँगर देखेर आफूलाई धेरै खुसी लागेको बताए। ‘उत्साहवद्र्धक जनसहभागिता छ, यसलाई स्थानीय सरकारले राम्रोसँग सदुपयोग गर्न सक्यो भने विकासका आधारहरू खडा हुन्छ भन्ने लागेको छ,’ उनले भने।  

केके गर्दैछन् साम्पाङ?

खानेपानीको प्रमुख अजेन्डा लिएर मेयर जितेका साम्पाङ कार्यभार सम्हालेदेखि नै खानेपानीमा बढी केन्द्रित छन्। उनले धरान–२० मा पर्ने पकुवा खोलामा जनश्रमदान र देशविदेशबाट प्राप्त आर्थिक सहयोगबाट पानी ल्याइसकेका छन्। अहिले निसाने खोलामा अढाइ लाख लिटर क्षमताको ट्यांकी बनाउन उनी जुटेका छन्। त्यहाँ पनि श्रमदान गर्न, आर्थिक सहयोग दिन देशविदेशबाट उनले साथ पाइराखेका छन्।

निसाने दोभानभन्दा केही माथि सर्दु खोलाबाट नमुना लघु जलविद्युत् उत्पादनको काम पनि सुरु भएको छ। धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सिभिल इन्जिनियर विभागीय प्रमुख प्रभात देव र चौथो वर्षका विद्यार्थीहरू यो काममा जुटेका छन्। धरानमा पनि बिजुली उत्पादन गर्न सकिन्छ भन्ने देखाउन र इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूलाई आफ्नो ज्ञान उपयोग गर्ने मेयर साम्पाङले उक्त योजना अगाडि बढाएका हुन्।  

क्याम्पसका विभागीय प्रमुख देवका अनुसार सर्दुबाट ५०/६० वटा सिएफएल चिम बाल्न सकिने गरी बिजुली उत्पादन गर्न सकिने अध्ययनबाट देखिएको छ। ‘मेयर साबले सानो आकारमा बिजुली निकाल्न सकिन्छ भनेर देखाउन खोज्नुभएको छ, हाम्रा विद्यार्थीले पनि व्यावहारिक ज्ञान हासिल गरिरहेका छन्। यो ज्यादै राम्रो पक्ष हो,’ उनले भने, ‘भविष्यमा कोसीको पानी ल्याउँदा यहाँ अलि ठुलो मात्रामा बिजुली उत्पादन गर्ने योजना मेयर साबको छ।’

मेयर साम्पाङ यतिमा मात्र रोकिएका छैनन्, उनले खर्दु खोलामा थप तीनवटा इन्टेक थपेर पानीको आपूर्ति बढाउन लागेका छन्। त्यसका लागि अध्ययन पनि भइसकेको छ। उनी हरेक शनिबार बिहान ७ बजे वृक्षरोपण गर्न जान्छन्। त्यसबेला पनि सयौं धराने जनता, संघसंस्थाले साथ दिइरहेका छन्। शनिबार दिउँसो पनि उनी फुर्सदमा बस्दैनन्, श्रमदान गर्न पुग्छन्। हरेक शुक्रबार उनी राष्ट्रिय पोसाक दौरासुरुवाल र ढाकाटोपीमा कार्यालय जान्छन्। विद्यालय र कार्यालयमा आफ्नो जातीय मौलिक संस्कृति झल्कने पोसाक लगाउन प्रेरित गर्ने उनको प्रस्ताव कार्यपालिका बैठकबाट पारित भइसकेको छ। त्यसैलाई कार्यान्वयन गर्न उनी हरेक शुक्रबार दौरासुरुवाल लगाउँछन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *