
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानले अब उपमहानगरको मापदण्ड पुरा गरेको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले कुनै पनि पालिकालाई उपमहानगर बनाउनको लागि कम्तीमा २५ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने क्षमता आवश्यक हुने मापदण्ड रहेको जनाए ।
उनका अनुसार, “म आउनु अघिसम्म धरानको आन्तरिक आम्दानी १८–२० करोड मात्र थियो, जुन अहिले बढेर २७ करोड पुगेको छ ।” उनले यो उपलब्धिलाई महत्वपूर्ण मानेका छन् र यसलाई धरान उपमहानगर बनाउने मार्गमा एक ठूलो सफलता भनेका छन् ।
“बधाई छ हामीलाई, अब हामी उपमहानगरपालिका भन्न लायक भयौं,” साम्पाङले लेखेका छन् । साथै, आलोचकप्रति कटाक्ष गर्दै उनले भनेका छन्, “म आउन अघिसम्म त्यो लायक थिइनौं, विरोधी हो, लु गाली गर मलाई!”


