उम्मेदवारी फिर्ता गराउन झुक्याएर हस्ताक्षर गराएपछि..

सबै कला घटना
स्वतन्त्र उम्मेदवार रायमाझीलाई लिन पुगेका प्रहरी नायब उपरीक्षक तिमिल्सिना

बारा क्षेत्र नं. ४(क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी कांग्रेस नेतृ निरु रायमाझीलाई उम्मेदवारी फिर्ता लिन दबाब दिँदै आएको सत्ता गठबन्धन दलले अन्तिम समयममा प्रहरी समेत परिचालन गरेको छ।

सत्ता गठबन्धनको सहमति विपरित प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी रायमाझीले मनोनयन फिर्ता नलिएपछि अन्तिम समयमा प्रहरी परिचालन गरेर दबाब दिने प्रयास भएको हो। सिमरास्थित होटल इच्छामा बसिरहेकी रायमाझीलाई जीतपुर-सिमरास्थित निर्वाचन अधिकृतको कार्यालयमा बोलाएको भन्दै प्रहरी लिन पुगेका हुन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाको नेतृत्वमा पुगेको प्रहरी टोलीले रायमाझीलाई निर्वाचन कार्यालय हिँड्न दबाब दिएको प्रत्यक्षदर्शीले बताएका छन्। रायमाझीले आफू कतै नजाने बताएपछि प्रहरीले अपहरणमा परेको सूचना आएकाले लिन आएको र निर्वाचन कार्यालयमा हाजिर गराउन निर्देशन भएबमोजिम आफू आएको बताएका थिए।

तर रायमाझीले आफू अपहरणमा नपरेको र आफ्नो शुभेच्छुकमाझ रहेकाले निर्वाचन अधिकृतको कार्यालय नजाने अडान लिएकी थिइन्। प्रहरीले दबाब दिएपछि होटलको स्थिति केहीबेर तनावग्रस्त बनेको थियो।

यसअघि एकीकृत समाजवादीका एक नेताले कांग्रेसले केन्द्रीय सदस्य बनाएको भन्दै रायमाझीलाई निर्वाचन अधिकृतको कार्यालय लगेर झुक्याउँदै उम्मेदवारी फिर्ता गर्ने फारममा हस्ताक्षर गराएका थिए। ‘एकीकृत समाजवादीका एक नेताले फोन गरेर तपाईँलाई कांग्रेसले केन्द्रीय सदस्य बनाएको र निर्वाचन कार्यालय पुगेर पत्र बुझ्नुपर्ने भन्दै लगेका रहेछन्,’ रायमाझी निकट स्रोतले भन्यो, ‘पछि थाहा पायौं झुक्याएर उम्मेदवारी फिर्ता लिने फारममा हस्ताक्षर गराएको रहेछ।’

रायमाझीलाई झुक्याएर हस्ताक्षर गरेको थाहा पाएलगत्तै उनका समर्थक जीतपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। निर्वाचन कार्यालयबाट रायमाझीलाई समर्थकले फर्काएर लैजान खोज्दा प्रहरीले रोकेका थिए। समर्थकलाई रोकेपछि अन्तिम समयमा रायमाझीका छोराले उनलाई फर्काएर सिमरा लगेका थिए।

उम्मेदवारी फिर्ता गराउन झुक्याएर हस्ताक्षर गराए पनि मनोनयन दर्ता गर्दा निर्वाचन कार्यालयले दिने निस्सा फिर्ता नगरेका कारण रायमाझीको उम्मदवारी कायम रहेको छ। मनोनयन फिर्ता लिँदा निर्वाचन कार्यालय दिने निस्सा फिर्ता गर्नुपर्ने हुन्छ।रायमाझीलाई छोराले फर्काएर इच्छा होटल लगेपछि गठबन्धन दलले सत्ताको दुरुपयोग गर्दै अन्तिम समयमा प्रहरी परिचालन गरेको थियो। निर्वाचन कार्यालयमार्फत् प्रहरीलाई फोन गराएर रायमाझीको अपहरण भएको र तत्कालै निर्वाचन कार्यालयमा उपस्थित गराउन आग्रह गरेपछि प्रहरी पुगेको हो।

अन्नपूर्ण पोष्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *