गंगालालमा एक चिकित्सकको म्याद थप्न नियमावली परिवर्तनको तयारी

समाचार

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा दुई साताअघिदेखि ‘अक्सिजेनेटर’ अभावका कारण मुटुको शल्यक्रिया ठप्प छ । अक्सिजेनेटर अत्यावश्यक भएका बिरामीलाई अस्पतालले औषधि दिएर फर्काइरहेको छ । जनस्वास्थ्यमाथिको यस्तो संवेदनशील संकटमा स्वास्थ्य मन्त्रालय भने अस्पतालका केही चिकित्सकको स्वार्थमा उमेरहद बढाउने चलखेलमा लागेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको ठाडो निर्देशनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले गंगालालका एक कार्डियोलोजिस्ट डाक्टरको स्वार्थमा सम्पूर्ण कार्डियोलोजिस्टको अवकाशको उमेरहद बढाउने तयारी गरेका हुन् । यसका लागि मन्त्री खापुङले अस्पताललाई शुक्रबार पत्राचार गरी सञ्चालक समितिको बैठक बोलाएका छन् । अस्पताल सञ्चालक समितिको अध्यक्ष स्वास्थ्यमन्त्री र सदस्य सचिव गंगालालका कार्यकारी निर्देशक रहने व्यवस्था छ ।गंगालालका कर्मचारीहरूको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५८ (छैटौं संशोधनसहित) को नियम १०.१ अनुसार कर्मचारीको उमेर ६० वर्ष पुगेपछि अनिवार्य अवकाश दिइने व्यवस्था छ । तर मन्त्रीस्तरीय निर्णयले कर्मचारीको सेवासर्तसम्बन्धी नियमावली संशोधन गर्न सक्ने प्रावधान छ । अस्पतालमा कार्यरत कार्डियोलोजिस्ट (मुटुको जाँच गर्ने) डा. रवि मल्ल साउन २३ मा अवकाश हुँदै छन् । उनको स्वार्थ पूरा गराउन उमेरहद ६० बाट बढाएर ६३ वा ६५ वर्ष पुर्‍याउने तयारी थालिएको अस्पतालका एक कर्मचारीले बताए ।

डा. मल्ल प्रधानमन्त्री शेरबहादुर देउवाका निकट रहेको स्रोत बताउँछ । अस्पतालमा मुटुको शल्य चिकित्सक १२ जना मात्र छन् । मुटुको जाँच गर्ने डाक्टर भने २५ जना छन् । त्रिभुवन विश्वविद्यालयको छात्रवृत्तिमा पनि तीन वर्षदेखि मुटुको शल्यचिकित्सा पढ्ने चिकित्सक छैनन् । यसले अगामी ५ वर्षमा मुटुको शल्य चिकित्सक अभाव हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *