
काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले क्रिकेट संघ नेपाल (क्यान) को यसपालिको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय गरेका छन्। लामिछानेले मंगलबार सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्।
“धेरै सोचविचारपछि मैले यसपटकका लागि क्यानको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय गरेको छु,” उनले लेखेका छन्, “यो क्रिकेट वा मेरो राष्ट्रबाट टाढिने निर्णय होइन—व्यक्तिगत र व्यावसायिक रूपमा अगाडि बढ्ने प्रयास हो।”
उनले नेपाली क्रिकेट र आफ्नो करियरमा क्यानले पुर्याएको योगदानको पनि कदर गरेका छन्। “मेरो यात्राभर क्यानले दिएको निरन्तर समर्थनप्रति म गहिरो आभारी छु। नेपाली क्रिकेटको विकास र मेरो व्यक्तिगत प्रगतिको यात्रामा क्यानको भूमिका उल्लेखनीय रहँदै आएको छ,” सन्दीपले लेखेका छन्।
उनले जीवनलाई “विकसित हुँदै जाने यात्रा” को रूपमा चित्रण गर्दै अगाडि अझ धेरै सिक्ने, दिने र बन्ने बाटो रहेको बताएका छन्। “जीवन बदलिँदै जाने यात्रा हो—उत्तरदायित्व र सम्भावनाहरूले भरिएको। क्रिकेटसँगै नयाँ बाटोको सुरुवातप्रति म उत्साहित छु,” उनले भनेका छन्।
सन्दीपले आफ्नो देशप्रतिको निष्ठा र क्रिकेटप्रतिको लगाव सदैव कायम रहने बताएका छन्। “कहिलेकाहीँ निर्णय टाढिनुका लागि होइन, बरु उद्देश्य र विकासको यात्राबाट प्रेरित भएर लिइन्छ,” उनले स्पष्ट पारेका छन्।
अन्त्यमा उनले आफूप्रति विश्वास राख्ने सबैलाई धन्यवाद दिँदै भनेका छन्, “यात्रा अझै जारी छ—नयाँ ऊर्जा र खुला मनका साथ।”


