नेपाल राष्ट्र ब्याङ्क: कुन दरका नयाँ नोट र सिक्का छाप्न कति खर्च लाग्छ

कला घटना

तपाईँको खल्तीमा रहेको, घरमा राखिएको वा ब्याङ्कमा जम्मा गरिएको नोट वा सिक्का छाप्न कति खर्च लाग्छ थाहा छ?

हामीले आर्जन वा खर्च गर्ने सिक्काको छपाई लागत त्यसको मूल्यभन्दा महँगो हुन्छ भन्ने पनि हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ।नेपाल राष्ट्र ब्याङ्कले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्यभन्दा दोब्बर बढी अर्थात् करिब साढे दुई रुपैयाँसम्म खर्च गर्ने गरेको छ।पोल्यान्डमा छापिने रु १ को सिक्का छपाइका लागि मात्रै राष्ट्र ब्याङ्कले प्रतिसिक्का रु २.४० खर्च गर्नुपर्छ।

त्यसका अतिरिक्त ढुवानीका लागि पनि थप खर्च लाग्ने र यस्तो खर्च समय अनुसार फरक पर्ने केन्द्रीय ब्याङ्कका अधिकारीहरू बताउँछन्।

अधिकांश नोटको छपाइ चीनमा

पोल्यान्डको मेनिका पोलेस्काले छापिएका एक रुपैयाँ दरका सिक्का पर्साको सिर्सिया सुख्खा बन्दरगाहसम्म पुर्‍याउने गरेको छ।राष्ट्र ब्याङ्कका अनुसार सबैभन्दा कम खर्चमा १० रुपैयाँको नोट छापिन्छ। सबैभन्दा बढी खर्च रु ५०० को नोट छाप्न लाग्दै आएको छ।

सिक्काको मोलभन्दा महँगो छपाइ

राष्ट्र ब्याङ्कका अनुसार अहिले रु १ र रु २ का नोट छापिँदैनन् र सिक्काहरू मात्रै छापिँदै आएका छन्। स्टिल र पित्तल धातुबाट बन्ने दुवै दरका सिक्काको वास्तविक मूल्यभन्दा छपाइ खर्च महँगो छ।बाहिर पित्तलको लेप लगाइएको भए पनि एक र दुई रुपैयाँ दरका सिक्का स्टिलबाट बनेका हुन्छन्।दुई रुपैयाँको सिक्का छाप्न प्रतिसिक्का रु २.७३ लाग्ने गरेको छ।”यो टेन्डर लागत मात्रै हो। यसमा ढुवानी खर्च अलग हुन्छ र त्यो परिस्थिति अनुसार फरक पर्छ। कति समयपछि ल्याइन्छ त्यसमा भर पर्छ,” राष्ट्र ब्याङ्कका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले भने।

महँगोमा सिक्का छपाइका कारण मात्रै राष्ट्र ब्याङ्कलाई हरेक वर्ष १० करोड घाटा हुने गरेको अधिकारीहरू बताउँछन्।राष्ट्र ब्याङ्कले पछिल्लो समय एक रुपैयाँ दरका ३० करोड र दुई रुपैयाँ दरका १० करोड सिक्का छापेर राखेको छ।

नोट छाप्न कति खर्च

राष्ट्र ब्याङ्कका अनुसार पाँच रुपैयाँको नोट छाप्न रु १.६८, १० रुपैयाँको छाप्न रु १.४० र २० रुपैयाँको छाप्न रु १.७३ खर्च लाग्ने गरेको छ।

पचास रुपैयाँको एउटा नोट छाप्न रु २.६७ पैसा र १०० को नोट छाप्न रु २.९९ खर्च लाग्छ।पछिल्लो पटक राष्ट्र ब्याङ्कलाई रु १,००० भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ।रु १,००० को नोट छाप्न रु ३.३७ र ५०० रुपैयाँको एउटा नोट छाप्न रु ४.६८ लागत छ।

नेपालका अनुसार ५०० को नोटमा थप सुरक्षा विशेषता रहेका कारण पनि महँगो भएको हो।”यसको पछाडि दुई वटा कारणहरू छन्। एउटा सुरक्षा विशेषता ५०० को नोटमा बढी भएर पनि हो अर्को बोलकबोल प्रतिस्पर्धा हुँदा यो नोट छाप्न सस्तो प्रस्ताव आएन,” उनले भने।

नेपालमा किन छापिँदैन?

नेपालमा चलनचल्तीका सिक्का छापिन छोडेको १२ वर्ष बढी भइसकेको छ।यसअघि सिक्का छाप्दै आएको राष्ट्र ब्याङ्कको टक्सार विभागले अहिले असर्फी, स्मारिका सिक्का र पदकहरू मात्रै बनाउने गरेको छ।”हाम्रोमा मेसिनहरू पुराना भए। सबै सामग्री बाहिरबाट आयात गरेर यहाँ छाप्नभन्दा प्रतिस्पर्धाबाट छनौट गरिएको मुद्रकबाट बाहिरै छाप्दा सस्तो पर्ने निष्कर्ष निकालेर बाहिर छाप्न थालिएको हो,” मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालले भने।

राष्ट्र ब्याङ्कले एक समय रु २५ र रु २५० दलका नोटहरू प्रकाशित गरे पनि पछि ती दरका नोटहरूको छपाइ बन्द गरेको थियो।एक र दुई रुपैयाँ दरका नोटहरू पनि आठ वर्षअघि छापिन बन्द भएको हो।

राष्ट्र ब्याङ्कले जति पनि नोट छाप्न पाउँछ?

राष्ट्र ब्याङ्कले चाहे जति नोट छाप्न भने पाउँदैन।नोट छाप्नुअघि राष्ट्र ब्याङ्कले कति नोट वा मुद्रा आवश्यक पर्छ भनेर अध्ययन गर्ने गरेको छ।अध्ययनका आधारमा राष्ट्र ब्याङ्क सञ्चालक समितिले तीन वर्षका लागि आवश्यक नोट छाप्ने अनुमति दिने गरेको छ।पछिल्लो समय तीन वर्षअघि राष्ट्र ब्याङ्कले दुई अर्ब ४१ करोड थान नोट छाप्ने अनुमति पाएको थियो।

मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालका अनुसार सन् २०२२ को अन्त्यतिर राष्ट्र ब्याङ्कले पुनः आगामी तीन वर्षका लागि छाप्ने प्रक्रिया सुरु गर्दैछ।यसका लागि विश्वव्यापी बोलपत्र आह्वान गर्ने र कम्पनी छनौट गर्ने तयारी भइरहेको छ।अधिकारीहरूका अनुसार कति सिक्का वा नोट छाप्ने निर्णय मुख्यतया तीन वटा आधारमा तयार गरिन्छ।विगत दुई वर्षमा प्रयोग भएका सिक्का र नोटको मात्रा,कुल गार्हस्थ्य उत्पादन र योजना आयोगको प्रक्षेपण एवम्मूल्यवृद्धिको दरयसबाहेक राष्ट्र ब्याङ्कले आफूसँग रहेको सञ्चित र सुरक्षण पनि मूल्याङ्कन गर्ने गरेको छ।केन्द्रीय ब्याङ्कको मुद्रा व्यवस्थापन विभागका अनुसार हाल राष्ट्र ब्याङ्कसँग ११ खर्ब बराबरको धितो राख्न सक्ने क्षमता छ।त्यसमध्ये ब्याङ्कले ८०० अर्बको नोटहरू बजारमा निष्कासन गर्न सक्ने अनुमति सञ्चालक समितिबाट पाएको छ।

BBC News बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *