न्यूजील्याण्ड सरकारबाट वाणिज्यदूत दिनेश खड्कालाई ‘न्यूजील्याण्ड अर्डर अफ मेरिट’ सम्मान

नेपाल

न्यूजील्याण्ड, मे २५ — नेपाली समुदायप्रति लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनु भएका न्यूजील्याण्डका लागि नेपालको मानार्थ वाणिज्यदूत दिनेश कुमार खड्कालाई न्यूजील्याण्ड सरकारले ‘न्यूजील्याण्ड अर्डर अफ मेरिट’ (Member of the New Zealand Order of Merit – MNZM) सम्मान प्रदान गरेको छ।

अकल्याण्डस्थित गभर्नमेन्ट हाउसमा आयोजित एक विशेष समारोहमा न्यूजील्याण्डकी गभर्नर जनरल सिन्डी किरोले खड्कालाई उक्त सम्मान प्रदान गरेकी हुन्।

सम्मान ग्रहणपश्चात दिनेश खड्काले भावुक हुँदै भने, “मेरो नामपछि अब MNZM (Member of the New Zealand Order of Merit) उपाधि जोडिनु मेरो लागि अत्यन्त गौरवको विषय हो। यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि होइन, न्यूजील्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायप्रति गरिएको सम्मान हो। म यो सम्मान हाम्रो समुदायलाई समर्पित गर्दछु। तपाईंहरूको साथ, एकता र साझा दृष्टिकोणबिना यो सम्भव हुने थिएन।”

खड्काले आफ्नो परिवारप्रति पनि विशेष धन्यवाद व्यक्त गरे। “यस यात्रामा विशेष गरी कठिन परिस्थितिमा मेरो पत्नी, छोराछोरी र आमाबुबाले गरेका त्याग र समर्थन मेरो लागि अमूल्य छन्,” उनले थपे।

कार्यक्रममा उपस्थित रहेका माननीय साइमोन ब्राउनप्रति धन्यवाद व्यक्त गर्दै खड्काले भने, “तपाईंको उपस्थितिले मलाई ठूलो सम्मान र प्रेरणा प्रदान गरेको छ। त्यस्तै, क्लो मास्टर्सको साथ र समर्थनप्रति पनि म आभारी छु।”

अन्तमा खड्काले नेपाली समुदाय तथा सम्पूर्ण न्यूजील्याण्ड समाजको हितमा अझ धेरै मेहनत र प्रतिबद्धताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा प्रधानमन्त्री क्रिस्टोफर लक्सन, साइमोन ब्राउन, क्लो मास्टर्स तथा केनेथ लिओङको उपस्थिति उल्लेखनीय थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *