
संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्। उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे।
एमालेले शनिबार राजधानीमा आयोजना गरेको पदयात्रा (वाकाथन) मा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो। सोही आधारमा असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ। एमालेले संविधान दिवसका अवसरमा पदयात्रा गरी राष्ट्रिय एकताको सन्देश दिन खोजेको छ।
बुद्धिजीवी दिनेशचन्द्र देवकोटाका अनुसार एमालेले जनताले बनाएको संविधानको रक्षा सबैले गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको हो। ‘एमालेकै अडान र पहलमा संविधान जारी भएको हो। यसलाई क्रमशः ओझेलमा पार्ने काम हुँदै थियो तर एमालेले यो संविधान सबै नेपालीको हो भन्दै संविधान दिवसमार्फत राष्ट्रिय एकताको सन्देश दिन खोजेको छ। यसकै लागि उसले राजधानीमा पदयात्रा गरेको छ। यसबाट राष्ट्रिय जागरणसमेत पैदा गर्न खोजिएको छ’, देवकोटाले भने।
त्यतिबेला भारतले केही समय संविधानसभाबाट संविधान जारी नगर्न दबाबपूर्ण आग्रह गरेको थियो तर त्यो आग्रहलाई नेपालका दलले अस्वीकार गरेका थिए। त्यसबेला एमाले अध्यक्ष ओलीले संविधान निर्माण र जारी गर्ने विषयमा कसैको हस्तक्षेप स्वीकार्य नहुने भन्ने अडान लिएका थिए। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला पनि संविधानसभाले बनाएको संविधान जारी गर्ने पक्षमा उभिएका थिए। नेताहरूको यही अडानकै कारण २०७२ असोज ३ गते संविधान जारी भएको थियो।
पदयात्रा कार्यक्रममा एमाले अध्यक्ष ओलीले नेपाल अरु कसैले चलाउने होइन, नेपाली जनताले चलाउने हो भन्दै नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताए। ‘नेपाल हामी नेपालीको हो भन्ने भावनाका साथ हामी अगाडि बढेका छौं’, उनले भने। उनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचारविरोधी अभियान, सुशासन र विकासको अभियानले हार्न नहुने बताए।
संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन एमालेले पदयात्रा गरेको हो। पदयात्रा बिहान ७ बजे बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र कुपण्डोलबाट सुरू भएको थियो। पदयात्रा कार्यक्रम वसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले सत्ता गठबन्धनले देशलाई ओरालोतर्फ धकेलिरहेको बताए। कार्यक्रममा एमालेका वरिष्ठ नेतालगायतको उपस्थिति थियो ।


