
उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ। सफाइ पाएसँगै शाह भोलि जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए।
नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएको थियो। उक्त इजलासले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।
उक्त फैसलाका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।


