मेडिसिटी अस्पतालमा २ करोड ६३ लाख ठगी गरेको आरोपमा तीन कर्मचारी पक्राउ

घटना

काठमाडौँ- ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा  ठगी गर्ने तीन कर्मचारी पक्राउ परेका छन्।

अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने केही कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदै आएको सुक्रा नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएकाे छ।

उनीहरूले बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिइ निजहरूबाट लिएको शुल्कभन्दा कम शुल्क सफ्टवेयरमा दाखिला गराई दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैयाँ) ठगी गरेको उजुरी अस्पतालले गरेकाे छ।

पक्राउ पर्नेमा विगतमा अस्पतालमा कार्यरत दोलखा भीमेश्वर न.पा.वडा नं.४ घर भई भक्तपुर ठिमी बस्ने वर्ष ३४ का राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी न.पा.वडा नं. ११ चापागाउँ बस्ने वर्ष २९ का सनम देशार र काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं.४ बालुवाटार बस्ने वर्ष ३४ का आशिष अर्याल रहेका छन्।

उनीहरूमाथि अपराधिक लाभ तथा अपराधिक विश्‍वासघात सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्यादथप अनुमति लिई अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी परिसर, ललितपुर प्रवक्ता एवम् सूचना अधिकारी नवराज कार्कीले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *