लिम्बुवान बन्दको आह्वान : पाँचथर र ताप्लेजुङमा सामान्य प्रभाव

समाचार

विराटनगर : लिम्बुवान राज्य घोषणाका लागि दबाब दिन आह्वान गरिएको लिम्बुवान बन्दको पाँचथर र ताप्लेजुङमा सामान्य प्रभाव परेको छ। अरुण पूर्वलाई लिम्बुवान राज्य घोषणाको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी किरात, लिम्बुवान, खम्बुवान प्रदेश परिषद्ले बन्दको आह्वान गरेको हो। पार्टीले अपिल जारी गरेर बजार पसल, यातायात, शैक्षिक संस्था, करकारखाना, उद्योग बन्दको घोषणा गरेको थियो। 

पाँचथर र ताप्लेजुङमा बन्दको सामान्य प्रभाव परे पनि अन्य जिल्लामा प्रभाव शून्य छ। पाँचथर र ताप्लेजुङबाट लामो दूरीका सवारीसाधन सञ्चालन नभएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। यी दुई जिल्लामा छोटो दूरीका सवारीसाधन भने चलिरहेका छन्। बजार, पसल खुला रहेको जनाइएको छ। अन्य जिल्लामा बन्दको प्रभाव परेको छैन। प्रदेश १ प्रहरी प्रवक्ता एसपी नवीनराज राईले यातायात, बजार, उद्योग कलकारखाना निर्वाध रूपले चलिरहेको जानकारी दिए। उनका अनुसार बन्दको पूर्वघोषित कार्यक्रम रहेकाले सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ। ठाउँठाउँमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको राईले बताए। 

राष्ट्रिय जनमुक्ति पार्टीले लिम्बुवान राज्य घोषणाको माग गर्दै २०६६ सालदेखि प्रत्येक वर्ष साउन २२ गते लिम्बुवान बन्दको आह्वान गर्ने गरेको छ। यस दिनलाई लिम्बुवान गुमेको कालो दिनका रूपमा मनाउँदै बन्द र विरोधको कार्यक्रम गर्ने गरिएको हो। विक्रम संवत २०१८ सालको लिम्बुवान र गोर्खाबीच भएको तम्रपत्र सन्धिलाई लत्याउँदै २०१८ साल साउन २२ गते लालमोहर सन्धिमार्फत लिम्बुवान राज्यलाई वृहत नेपालमा गाभिएको दाबी पार्टीको छ। यसकै विरोधमा प्रत्येक वर्ष साउन २२ गते बन्दको आह्वान गरिँदै आएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *