
चितवन।भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र परेको छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि रंगशाला अलपत्र परेको हो ।लामो समयसम्म निर्माणाधीन रंगशाला अलपत्र परेपछि रडमा खिया लागेका छन् । प्यारापिट बनाउन भनेर ल्याएर भुइँमा राखिएका रड कामै नलाग्ने भएका छन् भने पिलरका रड पनि बिग्रिने क्रममा छन् । अझै आठ महिनाभित्र काम सुरु हुन सकेन भने पिलरका रडसमेत काम नलाग्ने हुने रंगशालाको रेखदेख गर्दै आएका फाउन्डेसनका प्रतिनिधि टेकेन्द्रजंग शाही बताउँछन् ।‘हामीले महानगरले औपचारीक रूपमा स्वामित्व नलिँदासम्मको लागि रेखदेख गरेका हौँ । निर्माणको काम त ठप्प नै छ । लाखौँ रुपैयाँ खर्चिएर ल्याइएका दूबो काम नलाग्ने भएको छ । मैदानमा झाडी पलाएको छ’, उनले भने ।रंगशालाको अहिले तीन सुरक्षाकर्मीसहित ६ जनाले रेखदेख गर्दै आएका छन् । लाखौँ रुपैयाँ खर्चिएर दूबो लगाएर ठिक्क पारिएका मैदानमा झाडी पलाएका छन् । रंगशाला निर्माणस्थलमा बनाइएका संरचनाहरू निरन्तरको वर्षाले केही बिग्रिसकेका छन् भने केही बिग्रिने तर्खरमा छन् ।


