जडीबुटी सङ्कलनबाट ४० लाख राजस्व सङ्कलन

सबै

मनाङ।विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जङ्गली जडीबुटी सङ्कलनबाट रु ४० हजार १६ हजार ६४ राजस्व सङ्कलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट पनि उक्त राजस्व सङ्कलन भएको हो ।  सो आवमा जिम्बु सङ्कलनबाट रु ३९ हजार ९८, वन लसुनबाट रु ३४ हजार ५१२, गुची च्याउबाट रु १७ हजार २३३, निगालोबाट २२१, यार्सागुम्बाबाट रु ३६ लाख २९ हजार ५०१ र टिम्बरबाट रु दुई लाख ९५ हजार ४९९ राजस्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० फिस, यार्सागुम्बा १०७.०५२ किलोग्राम, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । गत वर्ष कोभिड– १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएको थियो । गतवर्षको तुलनामा यस वर्ष भने सहज भएकाले राजस्वमा पनि वृद्धि भएको गौतमले बताउनुभयो । कुनै पनि रोगको सङ्क्रमण नहुँदा सहज रुपमा मनाङ बाहेक अर्को जिल्लाबाट जडीबुटी सङ्कलनमा आउनेको सङ्ख्या बढेपछि राजस्वमा वृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *