जिराभवानी गापा १ को सामुदायिक बनमा युवतीको शव जलाइएको अवस्थामा फेला

समाचार विज्ञान/प्रविधि

इलाका प्रहरी कार्यालय, सेढवा र पटेर्वासुगौलीको संयुक्त टोलीले एकजना युवतीको जलेको अवस्थामा शव बरामद गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत जय माँ जगदम्बा सामुदायिक वनबाट बिहीवार जलेको अवस्थामा प्रहरीले शव बरामद गरेको छ।

बरामद शव जीराभवानी गाउँपालिका–१ भवानीपुर निवासी खेमराज दासकी १७ वर्षीया छोरी सीमा कुमारीको पुष्टि भएको छ प्रहरीले जनाएको छ । सीमाको शव वसन्तपुर सबडिभिजन वन कार्यालयभन्दा सात सय मिटर उत्तर घना जङ्गलबाट बरामद भएको हो । गएराति शव जलाइएको प्रहरीले अनुमान गरेको छ । बरामद शवको घुँडा, हाड र मासु जल्न बाँकी रहेको प्रहरीले जानकारी गराएको छ । शव जलाउन पेट्रोल, सिमेन्टको बोरा तथा चिनी प्रयोग गरिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

सीमाका बुबा फरार छन् भने आमा श्रीकान्ति देवीलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको छ । स्थानीयले सीमाको मृत्युको कारण प्रेम सम्बन्ध रहेको दाबी गरेका छन् । स्थानीय एकजना केटासँग सीमाको प्रेम सम्बन्ध रहेको र सोही कारणले आफ्नै घरपरिवारले हत्या गरी आत्महत्याको कारण देखाउन खोजिएको गाउँमा चर्चा छ । सीमाकी आमाले भने सीमालाई छारेरोग भएको बताएकी छन् । पक्राउ परेकी सीमाकी आमालाई यहाँबाट आवश्यक कारबाईको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको छ ।

प्रारम्भिक अनुसन्धानमा सीमाको हत्या गरिएको देखिए पनि प्रहरीले शल्यपरीक्षण रिपोर्टपछि तथ्य कुरा बाहिरिने बताएको छ । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ । सीमाको एकजना केटासँग रहेको प्रेम सम्बन्धका कारण घरमा केही दिनदेखि विवाद बढ्दै आएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *